Shittalpati
असारे विकास र मनोवृत्ति

आर्थिक वर्षको अन्तमा हतारहतार बजेट सक्नेगरी हुने विकास निर्माणका कार्यको बेथिति चालू आर्थिक वर्षमा पनि देखिएको छ । नेपालमा काम अन्तिम समयमा सम्पन्न गर्ने मानसिकताले असारे विकासलाई प्रष्ट पार्छ । असार लागेको छ ।

वर्षभरिका कामलाई पूर्णता दिने र हिसाब राफसाफ गर्ने महिनाका रूपमा आर्थिक वर्षको अन्तिम महिना असारलाई लिने गरिन्छ । बजेट सक्ने नाममा गरिने जथाभावी खर्चलाई चलनचल्तीको भाषामा ‘असारे विकास’ भन्ने गरिन्छ । असारे विकासले आर्थिक अनुशासन, दिगो विकास र सुशासनलाई खिल्ली उडाउँदै आएको छ । आर्थिक वर्षका शुरूका महिनामा सरोकारवाला निकाय चुपचाप बस्ने र वर्षको अन्तिमका महिनामा आएर हतार–हतार विकास निर्माणका काम गर्ने प्रवृत्ति अहिले पनि दोहोरिएको छ । नेपालमा विकास निर्माणका काम समयमै सम्पन्न हुनुपर्छ भन्ने योजना बने पनि कार्यान्वयन हुन सकेको छैन । यसो हुनुको मुख्य कारण फितलो कानून हो । यसका लागि वित्तीय उत्तरदायित्व ऐन पनि छ । तर त्यसको पनि प्रभावकारी कार्यान्वयन भएको छैन । त्यसैले लक्ष्यअनुसार काम सम्पन्न भएन वा गरिएन भने दण्ड दिने कानूनको आवश्यकता पर्छ । तर त्यसो हुन सकेको छैन । यसले गर्दा असारे विकासको पुनरावृत्ति भइरहेको छ । यो अत्यन्त दुखको कुरा हो ।

चालु आर्थिक वर्ष सकिनै लाग्दा पाल्पासहित देशैभर सडक निर्माण कार्य धमाधम भइरहेको छ । पानी परी रहे पनि बाटो खन्न र पिज गर्न छोडिएको छैन । असारे झरीमा पिच गरेको सडकमा एक महिनापछि साउने झरीले निकै ठूला –ठूला खाडल बनाउँछ भने यो दोष झरीको होइन, मानिसको मानसिकताको हो । हाम्रो विकास पद्धतिको हो । जब असार लाग्छ, राम्रा सडकसमेत भत्काइन्छ । अनि पैदल हिँड्नसमेत मिल्दैन । सवारीसाधन दुर्घटना बढ्न थाल्छ । आफ्नो काम लिएर बाहिर निस्केर साँझ घरमा सकुशल फिर्ता हुन सकिन्छ कि सकिँदैन भन्ने भय हुन्छ । हरेक वर्ष निरन्तरता पाउने गरेको असारे विकासका कारण नागरिकले सहनु पर्ने सास्ती र व्यापक क्षतिका सम्बन्धमा राजनीतिक, प्रशासनिक नेतृत्वलगायत सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । अत्यावश्यकबाहेक दिगो भौतिक पूर्वाधारका लागि केही समयको प्रतीक्षा गरेर कामलाई टुङ्गो लगाउने संस्कार यतिखेरको खाँचो हो, ताकि असारे विकासको नाममा बजेटमाथि  ब्रह्मलुट गर्ने नियत र प्रवृत्तिमाथि अङ्कश लाग्न सकोस् । अब पनि यसबारेमा समयमै नचेत्ने हो भने त्यो प्रवृत्ति हामी सबैका लागि घातक सिद्ध हुने निश्चित छ ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update