Shittalpati
आज निर्जला एकादशी, घर–घरमा तुलसीको दल राखिंदै

पाल्पा, वैदिक सनातन धर्मावलम्बीहरुले आज आ–आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोप्ने चलन छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशी समेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको छ । सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने बताइएको छ । आयुर्वेदिकरूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ ।

मिथिलामा सामान्यतया सबै एकादशीलाई धार्मिक विश्वासमा खास दिन मानिने परम्परा भए पनि निर्जला, हरिशयनी र हरिवोधनीचाहिँ विशेष नै मानिन्छन् । हिन्दु मैथिल परम्परामा एकादशी र तुलसीबीच गहिरो सम्बन्ध रहेको मैथिल कर्मकाण्डका ज्ञाताहरु बताउँछन् । 

सत्ययुगमा सति नारी वृन्दाका दुष्ट पतिको संहार गर्न विष्णुले छलेर उनको सतित्व डगाउँदा वृन्दाले भगवान् विष्णुलाई श्राप दिएको बताइन्छ । त्यसै श्रापअनुसार वनस्पतिरूपमा भगवान् विष्णु तुलसी हुँदा उनको पूजाआराधनासँग तुलसीको प्रचलन जोडिएको जनविश्वास छ । तुलसी वातावरण र औषधीय गुणयुक्त वनस्पति हो । एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो । एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ । एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्छ ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update