Shittalpati
पाल्पामा पाँच जिल्लाको अन्तर जिल्ला समन्वय बैठक

पाल्पा, पाँच जिल्लाको अन्तर जिल्ला समन्वय बैंठक पाल्पामा बसेको छ । गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र पाल्पाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको बैंठक पाल्पाको तानसेनमा बसेको हो ।

विपद् व्यवस्थापन, जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह लगायतका विविध विषयमा केन्द्रीत रहेर अन्तर जिल्ला समन्वय बैठक बसेको जनाइएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको अध्यक्षतामा बसेको बैंठकले शान्ति सुरक्षा र विपद् व्यवस्थापनका विषयमा एक जिल्ला र अर्को जिल्लाबिच समन्वय गरेर जाने कुरामा जोड दिएको छ । बर्खा लागेसँगै प्राकृतिक विपद् बाट हुन सक्ने क्षति र जोखिमलाई कम गर्न एक अर्को जिल्लाबिच आवश्यक समन्वय गरिने भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी काफ्लेले बताए ।

उनले भने ‘एक जिल्लामा परेको विपद् व्यवस्थापनमा आवश्यक जनशक्ति, उद्दारका सामग्री र राहतको व्यवस्थाका लागि एक आपसमा हातेमालो गरेर अगाडि बढ्ने कुरामा पाँचै जिल्लाका पदाधिकारीहरुले जोड दिएका छौं ।’ बैठकले, विपद व्यवस्थापन, अपराध तथा लागू औषध नियन्त्रण, अवैध ओसार पसारका विषयमा एक आपसमा सूचना आदान प्रदान गर्ने निर्णय गरेको पनि प्रजिअ काफ्लेले एनजेडीसँगको कुराकानीमा बताए । ‘जिल्लामा भएका समस्याहरु एक अर्काबिच सेयर गर्ने र समाधानका लागि आवश्यक सहजिकरण गर्ने भन्ने पनि निर्णय गरेका छौ,’ उनले भने ।

बैठकले ओभर लोडका सवारी साधानहरु नियन्त्रण गर्ने, नदीजन्य पदार्थ र प्राकृतिक स्रोतको अवैध उत्खनन र दोहन रोक्न कडाइका साथ लागि पर्ने निर्णय समेत गरेको बताइएको छ । बैंठकमा सेवा प्रवाहका विषयमा समिक्षा र आफ्ना जिल्लामा भएका असल अभ्यासका विषयमा एक आपसमा अनुभव सेयरिङ्ग पनि गरिएको थियो । बैठकमा पाँचै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update