Shittalpati
घर –घरका मठमा तुलसीको दल राखियो

पाल्पा, आ–आफ्नो घरको मठमा मंगलबार तुलसीको दल राखिएको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने पम्परा अनुसार मठमा तुलसीको दल राखिएको हो ।

विशेषतः वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष  मठमा तुलसीको दल राख्ने गर्दछन् । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुकाई–बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको छ । सोही अनुसार अधिकांस धर्मावलम्बीहरु व्रत समेत बसे । सक्नेले पानी नखाई व्रत गरे भने नसक्नेहरुले फलफूल खाएर बसेका छन् । आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ । यस अवसरमा देशभरका नारायणस्थान एवम् विष्णु मन्दिरमा भक्तजनको विशेष भीड लागेको थियो । मिथिलामा सामान्यतया सबै एकादशीलाई धार्मिक विश्वासमा खास दिन मानिने परम्परा भए पनि निर्जला, हरिशयनी र हरिवोधनीचाहिँ विशेष नै मानिन्छन् । हिन्दु मैथिल परम्परामा एकादशी र तुलसीबीच गहिरो सम्बन्ध रहेको मैथिल कर्मकाण्डका ज्ञाताहरु बताउँछन् । सत्ययुगमा सति नारी वृन्दाका दुष्ट पतिको संहार गर्न विष्णुले छलेर उनको सतित्व डगाउँदा वृन्दाले भगवान् विष्णुलाई श्राप दिएको बताइन्छ । त्यसै श्रापअनुसार वनस्पतिरूपमा भगवान् विष्णु तुलसी हुँदा उनको पूजाआराधनासँग तुलसीको प्रचलन जोडिएको जनविश्वास छ ।
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update