Shittalpati
पाल्पा र कैलालीमा भरूवा बन्दुकसहित दुई जना पक्राउ

पाल्पा, देशका विभिन्न ठाउँबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय समाचार कक्षका अनुसार पाल्पा र कैलालीका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३६ वर्षीय ईश्‍वर कुमाललाई प्रहरीले एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान पक्राउ गरेको छ । उनको घरमा खोजतलासी गर्दा प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको हो । ईश्‍वरले सोमबार राति जंगलमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने ३४ वर्षीय टोपबहादुर कुमाल घाइते भएका थिए । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले ईश्‍वरको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यस्तै कैलालीको घोडाघोडी नगरपालिका–१२ नकफोडुवाका ३७ वर्षीय मोहन बहादुर खत्रीलाई पनि भरूवा बन्दुक ३ थानसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update