Shittalpati
तानसेनमा प्रजनन् स्वास्थ्य शिविर, ६५ जना महिलाले लिए सेवा 

पाल्पा, तानसेनमा एक दिने एकिकृत प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भीम भैरब उपशाखा तानसेनको आयोजना र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर भएको हो । 
परिवार नियोजन संघको कार्यालयमा भएको शिविरमा महिलाहरुलाई केन्द्रीत गरेर विभिन्न पाँच प्रकार सेवा, चेक जाँच तथा परामर्श दिइएको थियो । जहाँ ६५ जना महिलाहरु लाभान्वित भएका छन् । शिविरमा पाठेघर मुखको क्यान्सर परीक्षण, छातिको क्यान्सर परीक्षण, आङ खस्ने परीक्षण, प्रजनन् अंगहरुको संक्रमण तथा यौन रोग परीक्षण र एकिकृत प्रजनन् स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो । शिविरमा ६५ जना महिलाहरुले विभिन्न परीक्षण तथा प्रजनन् परामर्श लिएका थिए । जसमा ६ जनामा सम्भावित पाठेघरको मुखको क्यान्सर (भिआइए पोजेटिभ), ११ जनामा विभिन्न यौन रोग  संक्रमण, १ जनामा आङ खस्ने समस्या र २ जनामा पोलिप देखिएको परिवार नियोजन संघका प्रवन्धक शोवाकान्त न्यौपानेले जानकारी दिए । उनका अनुसार पाठेघर मुखको क्यान्सरको सम्भावना देखिएका ६ जनालाई संघमै उपचार व्यवस्थाको प्रवद्र्धन गरिएको छ भने अन्य समस्या भएका विरामीहरुलाई औषधि वितरण, आवश्यक उपचार र परार्मशको व्यवस्था गरिएको छ । 

लजाएर रोग लुकाएर राख्दा पाठेघर खस्ने, क्यान्सर हुने जस्ता समस्याहरु देखा पर्दै गएकाले त्यस्ता महिलाहरुको स्वास्थ्य परीक्षण गरि हुन सक्ने जोखिम र खतराबबाट बचाउनुुको साथै सचेतना जगाउन शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी भीम भैरब उपशाखाका सभापति विरेन्द्रकाजी शाक्यले बताए । उनले भने ‘ पाठेघरको क्यान्सरबाट हुन सक्ने जोखिमबाट बचाउन शिविर उपलब्धिमूलक बन्यो ।’ परीक्षणको पुहँज भन्दा बाहिर रहेका महिलाहरुका लागि शिविरले महत्वूर्ण टेवा पुगेको उनले विश्वास व्यक्त गरे । 

शिविरको एक औपचारिक कार्यक्रमकाबिच शुभारम्भ गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका सभापति बाबुराम कार्कीले शिविरको शुभारम्भ गरेका थिए । कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि समेत रहेका कार्कीले रेडक्रसको मुलमन्त्र भनेकै मानव सेवा रहेकाले सोही अनुसार उपशाखाले शिविर सञ्चालन गरेकोमा खुसी व्यक्त गरे । उनले नेपालमा पाठेघर स्वास्थ्य समस्या  आम रुपमा देखा परेकाले परीक्षण र परामर्श आवश्यक रहेको औल्याए । सभापति कार्कीले विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या बढी देखिने गरेकाले गाउँ–गाउँमा यस्ता कार्यक्रम गरिनु पर्ने उल्लेख गरे ।  उनले शिविरले अन्य उपशाखाहरुलाई समेत कार्यक्रम गर्न थप उत्प्रेरण मिल्ने बताए । कार्यक्रममा रेडक्रका निवर्तमान जिल्ला सभापति बुद्धिप्रसाद शर्माले पुरुषहरुको तुलनामा महिलाहरुको स्वास्थ्य प्रजनन्मा अलि बढी समस्या हुने भएकाले उनीहरुमा स्वास्थ्य परीक्षणसँगै सचेतना स्वाभाविक रुपमा आवश्यक रहेको बताए । शर्माले भने‘ महिलाहरुको स्वास्थ्य परीक्षण गर्दा पुरुषहरुलाई पनि सँगै राखेर शिविर सञ्चालन गर्न सकियो भने थप प्रभावकारी हुन्थ्यो ।’ उनले आगामी दिनमा यसतर्फ ध्यान दिन परिवार नियोजन संघलाई आग्रह समेत गरे ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पाका प्रवन्धक शोवाकान्त न्यौपानेले  कार्यक्रममाथि प्रकाश पार्दै महिलाहरुको प्रजनन् स्वास्थ्य नियमित रुपमा परीक्षण गर्नुपर्ने बताए । उनले पाठेघर मुखको क्यान्सर, छातिको क्यान्सर, महिलाको आङ खस्ने, यौन रोग परीक्षण तथा उपचार संघबाटै नियमित रुपमा प्रदान गर्दै आएको समेत उल्लेख गरे । रेडक्रस उपशाखाका कोषाध्यक्ष युवराज पौड्यालले अझै पनि प्रजनन् स्वास्थ्य समस्या भएका अधिकांस महिलाहरु स्वास्थ्य संस्था पुगेर परीक्षण गराउन लाज मान्ने गरेको भन्दै उनीहरुको स्वास्थ्य परीक्षण गर्नु अघि सचेतना र परामर्श आवश्यक रहेको बताए । उनले आगामी दिनहरुमा रेडक्रसले सचेतना र परामर्शका कार्यक्रमलाई पनि सँगसँगै लैजाने उल्लेख गरे । कार्यक्रम रेडक्रस उपशाखाका सभापति विरेन्द्रकाजी शाक्यको अध्यक्षता, उपसभापति रमा पन्थीको स्वागत, सचिव बंकिङ चन्द्र खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । 


 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update