Shittalpati
शरणार्थी दिवसको सन्दर्भ

हरेक वर्ष जुन २० का दिन विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । आज पनि विश्व भर यो दिवस मनाउन लागिएको छ । सन् १९५१ मा पहिलोपटक शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरिएको थियो ।

जारी गरिएको ५० वर्ष पुगेको अवसरमा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेसँगै यो दिवस हरेक वर्ष मनाउँदै आइएको छ । सामान्यतया आफ्नो जन्मभूमिबाट आन्तरिक वा बाह्य कारणले लखेटिएर अर्को मुलुकमा आश्रय लिन पुगेका व्यक्ति नै शरणार्थी हुन । शरणार्थी बन्नु रहर नभई बाध्यता हो । विश्वमा युद्ध, द्वन्द्व, भोकमरी, प्राकृतिक विपद् लगायतका कारणले अझै पनि लाखौँ मानिसहरु आफ्नो बासस्थान छोडेर शरणार्थी हुन बाध्य भैरहेका छन् । शरणार्थी बन्न बाध्य भएका त्यस्ता परिवारमा शिक्षाको अवसर उपलब्ध हुनुपर्ने, शरणार्थी परिवारको व्यवस्थापन सुरक्षित तरिकाले हुनुपर्ने र प्रत्येक शरणार्थीले नयाँ कुरा सिक्ने अवस्था निर्माण गर्नुसँगै उनीहरुले आफ्नो क्षमताअनुसार नै काम गर्न पाउनुपर्नेजस्ता मागहरु हाल प्रमुखरुपमा उठिरहेका छन् ।

नेपालमा अहिले झण्डै २० हजार शरणार्थी रहेको अनुमान छ । ६ दशक भन्दा बढी समयदेखि नेपालमा शरणार्थीको संख्या बढ्न थाले पनि अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्र संघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन । यो अत्यन्त दुखको कुरा हो । कुनै पनि देश चाहे धनी वा गरिब होस्, सो मुलुकले सार्वभौमसत्ता सम्पन्न, आधारभूत मानव अधिकारको प्रत्याभूति हासिल गर्ने ध्येय लिएको हुन्छ । तर नेपालमा शरणार्थी व्यवस्थापन चुनौतीपूर्ण विषय बन्दै गएको छ । जहाँसम्म शरणार्थीलाई उनीहरुकै देश फर्काउने कि यहीँ व्यवस्थापन गर्ने सवाल छ, त्यो दुई देशबीचको कूटनीतिक सम्बन्धले निर्धारण गर्ने कुरा हो । त्यसका लागि सरकारले अहिले सक्दो पहल गर्न जरुरी छ । यसो गर्न सकियो भने मात्र विश्व शरणार्थी दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update