चोरनीको छोरा भन्ने ढनाढ्य महिला, चोरनीको छोरा भन्दै स्कूलमा गिल्ला गर्ने स्कूलकै सहपाठी सहारा र चोरनीको छोरा भनी कक्षामा सबैले खिसि गर्दा समेत विधार्थीलाई नसम्झाई खुतुतुतु हाँसेर बस्ने मोहिनी मिस घृणाका तीन पात्रहरू हुन् । यी तीन पात्र मध्ये धनाढ्य महिला र सहारा आमा छोरी हुन् । यिनै छोरी सहाराले आमालाई आफू छ कक्षा पढे देखि नै जीवनभर घृणा गर्दै आइरहिन् ।
चोरनीको छोरो को ? भनी केटाकेटीहरूले कक्षा कोठाभित्रनै हाजिरी जवाफ गर्दा चोरनीको छोरा – शील भन्ने अपमान खप्न नसकेपछि शीलले बोर्डिङ स्कुल पढन छाड्यो र सरकारी स्कुल पढन लाग्यो । मेहनत गरेर पढ्यो र ठूलो संगै असल मानिस समेत बन्न सफल भयो । आबश्यक मात्रामा पैसा कमाउन लाग्यो र फ्ल्याट लिई बस्न थाल्यो। यधपी मनमा भने आफू चोरनीको छोरा हो या होईन भन्ने प्रश्नले जीवन भर गाँजीरÞयो र अन्ततः विहे गर्ने उमेर भइसकेपछि एक दिन आमाको गोडा समाएर शीलले सोध्यो, ‘हे मेरी आमा के तिमी चोरनी हौ ?’ छोराको प्रश्न सुनेर आमा सुस्तरी उठिन र हृदयमाथि हात राखेर भनिन, ‘हो छोरा म चोरनी हुँ ।’
बाबुलाई द्वन्दकालीन समयमा माआोवादीले वेपत्ता पारेको तीन बर्षपछि लास भेटिएपछि गाउँमा बस्न मन नलागेर आमा छोरा बाजेकहाँ बस्न भनी शहर आउँछन् । सुकिला को हुन ? के काम गर्थिन ? शीलको बाल्यकाल कसरी बित्यो । धनाढ्य महिलाको लोग्नेले के गर्थे ? ती धनाढ्य घमण्डी महिला कसरी गरीब भइन र कोसंग बस्न लागिन् ? सहाराले किन स्कुल छाडेर हिडिन् ? सहारालाई मनैदेखि दया कसले देखायो ? को हुन निलाक्षी ? बानु को हो ? सहारा र शीलको भेट हुन्छ या हुदैन ? सहाराको नजरमा यो संसारको सबैभन्दा घुणित पात्र आमा किन भइन ? यी सबैको उत्तर प्राप्तिका लागि साहित्यकार भागवत खनालद्वारा लिखित कथा संग्रह ‘बाबा मेरो पीआर आयो’ भित्रको उन्नाइसौं कथा ‘चोरनीको छोरो’ स्वाध्ययन गर्नुहोस् । सामाजिक यथार्थवादी मनोवैज्ञानिक एवं मनोविश्लेषणात्मक कथाको रूपमा ‘चोरनीको छोरा’ लाई लिन सकिन्छ । चरित्र प्रधान रहेको यो कथा संग्रहभित्रको उत्कृष्ट शील्पयुक्त कथामध्यमै पर्दछ ।
पाँच देखि दस बर्षसम्मका केटाकेटीहरूको सबैभन्दा मजबुत सुरक्षा कवज बाबुनै हुन्छन भन्ने कथ्य लेखकद्वारा उजागर गरिएको छ । ‘छोराछोरी कुपात्र हुन सक्छन्, परन्तु माता कहिल्यै कुमाता हुन सक्दिनन’ भन्ने कथ्यलाई समेत मिथ्या गराई माता पनि कुमाता हुन्छिन भन्ने उदाहरणीय शिक्षाप्रद कथा हो – चोरनीको छोरा । सन्तानको खुशीको लागि जेपनि गर्न गराउन सक्ने स्त्री शक्ति आमालाई छोराछोरीकै नजरबाट कथा भित्रको चरित्रको आधारमा मात्रै ‘ घृणाको पात्र ’ बनाउन मिल्ला र यो गंभिर प्रश्नको रूपमा उठान भएको छ । बाबा अर्थात पुरूषलाई घृणा गर्ने दुनियाँमा आमालाई घृणा गरेको मान्य हुन्छ या हुँदैन ? यी सब सोचनीय रहेका छन् । कथाको उठान र समापन रोचक रहेका छन् ।
सर अब त बिहा गर्नुपर्छ । सुहाउँदो केटी खोजिदिने जिम्मा मेरो ‘ भनेकी नीलाक्षीले वास्तवमै शीलको च्याम्बरभित्र केटी नै लिएर आइन । यसरी शुभारम्भ भएको कथाभित्रका केही प्रसंगहरू शङ्गार रसले भरिपूर्ण छन् । सारीमा सजिएकी सुन्दर स्त्रीको बर्णन यसरी गरिएको छ – लज्जावत नेत्र , सुशोभित नासिका र गुलावी कपोल । लामा हात, विशाल बकस, सर्लक्क मिलेको कटी र जतनसाथ सजाइएको केशराशी । अनि अनारदाना दन्त पङ्क्ति र पवित्र रमणीय मन्द मुस्कान थियो भने यता लाज मानेर पसिनाले निथुक्र भिजेको शीलले तीस बर्षको उमेरमा आसक्त नजरले हेरेको पुरूष अनुभूतिको र स्वादन पनि कथाको शुभारभ्ममै पिउन पाइन्छ । सहनशील र सत्य बोल्ने सुकिलामा वीर रस भित्रको धर्मवीर पाइन्छ भने सुकिला र शील दुवैमा करूण रस सहित शान्त रसका भूमिकाहरू पाइन्छ । बुनुको मनभित्र र उनको स्वभावमा भने भयानक, करूण र वीररस भित्रको दयावीरले प्रतिष्पर्धा गरेको पाइन्छ । गहिरिदै जाने हो भने कथाभित्र नवरसकै आस्वादन हुन्छ ।
समस्त पाठक वृन्दमा समर्पित, विनिता खनालद्वारा प्रकाशित एवं सेवानिवृत राष्ट्रसेवक शिद्धहस्त लेखक भागवत खनालद्वारा लिखित कथा संग्रह ‘बाबा मेरो पी आर आयो ’भित्र चोरनीको छोरोसहित चौबीसवटा महनीय, मननीय र उदाहरणीय कथाहरू संग्रृहित रहेका छन् । जुन कथाका सारहर यसप्रकार रहेका छन् :– बिर्सेको प्रेम र गण्डकीका छालहरू शीर्षकको पहिलो कथा मुकुन्द सेनकालीन प्रेम कथामा आधारित रहेको छ ।फेरि सपनाहरू शीर्षकको कथामा नेपाल र भारतको चित्रण सहित वृन्दावनकि आप्तकामिनीको व्यथा रहेको छ । मी टू कथामा नारीभन्दा पुरूष खतरनाक हुन्छन् भन्दै आधुनिक नीलप्रभासंग महाभारतकि कुन्तीलाई जरुोडिएको छ । मिल्टन सरको सुखान्त शीर्षकको कथा जागिरे पुरूषको दैनन्दिनीका आधारित यथार्थपरक कथा बनेको छ । कालीगण्डकी सुसाइरह्यो शीर्षकमा अभाव परिश्रम र पश्चाताप सहित गर्भे टुहुरो हुमलालको कथा रहेको छ । विलासीको बकपत्र शीर्षकको कथामा भ्रष्टाचारले निम्त्याएको आत्मग्लानी र आत्महत्या सहित भ्रष्टाचार निवारणका लागि आग्रह गरिएको छ । बाबा मेरो पी आर आयो, यो पुस्तकको शीर्षकीय कथा समेत हो । विदेश जान र त्यही बस्नका लागि सन्ततीहरू हदैसम्म गिर्ने सत्य तथ्यको उदाहरण सहित युवा नेपालीहरूको सोचको विकृत रूप देखाइएको छ ।
अचेतन कथा धार्मिक र आध्यात्मिक चेतन/अचेतन भित्र कथा संरचित रहेको छ । भी आई पी बा शीर्षकको कथामा जिन्दगीमा जे जे गरेपनि, जति ठूलो भएपनि अन्ततः राम नाम सत्य हो भन्ने कथ्य देखाइएको छ । द्वन्द्वको दामल र भिजेको नोट कथामा माओवादी युद्धले दिएको पीडा नेतृत्वको पूँजीवादी चरित्रको समुदघाटन गरिएको छ । शुक्रे डिङ्गाको भूत ऐतिहासिक उठान सहित भूतहरू बिचको सम्बाद प्रस्तुत गरिएको कथा हो । भिजेको सूर्ति कथामा पाँच बर्षको अन्तराल ठेलावालालाई प्रतीक बनाइएको स्वतन्त्रताको कथा रहेको छ । साधुनाथ बा पनि काठमाडौं पुगे शीर्षकको कथामा पहिलोपटक राजधानी शहर पुग्दाको कथा व्यथा रहेका छन् । बले एक जीवनी कथा बदरीनाथको तीर्थयात्रा, पण्डा र नेपाल आमालाई गाली गर्ने व्यक्तिको हात भाचिदिदा जेल पर्नु परेको स्वाभिमानी नेपालीको कथा हो । सिडनीको सानुमाया ‘पति स्वार्थी हुन सक्छ, पिता कदापि स्वार्थी हुदैन’ भन्ने निष्कर्षको कथा रहेको छ ।
स्वीटेको भकुण्डो शीर्षकको कथा प्रीय खलासी स्वीटेको निष्ठुर कोरोनाले मृत्यु गराएको दुखद कथा हो । कोरोना बाजे कथाभित्र कोरोनाले बनाएको बन्दी जीवन र पीडाको कहालीलाग्दो कथा सिजृत भएको छ । पर्खालभित्र कथामा मानसिक अस्पतालभित्र नाटकीकरण गरिएको जीवनको दर्दनाक व्यथा उजागर गरिएको छ । धर्मपत्नी शीर्षकको कथामा पतिलाई निकोपार्न बाध्यताबस शरिरबेच्ने पत्नीको कथा चित्रण गरिएको छ । फेरि उज्यालो शीर्षकको कथामा हजुरबुवा र नाति पुस्ताको सामाजिक कथा रहेको छ । मुनि कथामा अतितका कथाहरू रहेका छन् जुन तपाईं हाम्रो सबैको जिन्दगीसंग मेल खान सक्छ । बाको कोठा शीर्षकको कथा ‘खराब र असल परिस्थितिले बनाउछ’ कथ्यको निष्कर्षको उत्कृष्ट कथा रहेको छ । उर्वशी भाउजू शीर्षकको कथामा सौर्न्दर्य र सम्पत्तिले भरिपूर्ण तर लोग्नेको माया स्पर्श खोजेजति नपाएकी पत्नीको पीडाको कथा रहेका छन् । संग्रहभित्रका हरेक कथाहरूले मन छुन्छ, मुटु चस्काउछ र मस्तिष्कमा झंकार उत्पन्न गराउँछ । बाबा मेरो पीआर आयो भित्रका सबै कथाले बौद्धिक पाठकबर्गकोञ माग गरेको छ । मैले त पढे । अन्य कथाहरूको चर्चा परिचर्चा फेरि गरौला । अहिलेलाई यतिनै । तपाईहरूले पनि एक पटक यो पुस्तक खोजेर, मागेर या किनेरै भएपनि पढनुहरुोस् । भागवतजीको प्रस्तुत संग्रह भागवत कथा जस्तै सदाबहार भइरहोस् ! शुभकामना !
(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष र समीक्षक हुन्)