Shittalpati
लोकसेवा पढ्नेहरुका लागि रामपुर बन्यो सहयोगी

पाल्पा, जिल्लाको रामपुर नगर सरकार लोक सेवा आयोग पढ्न चाहनेहरुका लागि सहयोगी बनेको छ । पढ्न इच्छा भएर पनि आर्थिक अभावका कारण पढ्न नसकेका र चाहना भएकाहरुलाई नगर सरकारले निःशुल्क रुपमा तयारी कक्षका लागि सहयोग गरेको हो ।

नगरपालिकाकै सहयोगमा नगर भित्रका लोक सेवा पढ्नेहरुलाई ४५ दिने लोक सेवा आयोग तयारी कक्षा दिइएको छ । तयारी कक्षाको एक औपचापरिक कार्यक्रमकाबिच समापन गरिएको छ । नगर प्रमुख रमण बहादुर थापाले कार्यक्रमको समापन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले लोक सेवा आयोग पढ्न चाहने विद्यार्थीहरुको सहजताका लागि कक्षा सञ्चालन गरिएको बताए । उनले लोक सेवा आयोग तयारीका लागि मार्ग दर्शनको रुपमा कक्षा सञ्चालन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । स्वदेशमै बसेर देश र जनताको सेवा गर्नका लागि मेहनतका साथ अध्ययन गर्न आग्रह गर्दै नगर प्रमुख थापाले उद्देश्य प्राप्तिका लागि लगनशिलता र निरन्तरताको खाँचो रहेको औल्याए ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगरपालिकाले लोक सेवा आयोग बारे आधारस्तम्भ तयार गर्नका लागि कक्षा सञ्चालन गरेको भन्दै सफलताका लागि मेहनतका साथ अध्ययन गर्न आग्रह गरिन । नगर प्रवक्ता एवं १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले नगरपालिकाले सञ्चालन गरेको निःशुल्क लोक सेवा आयोग तयारी कक्षाको उपलब्धी र औचित्य पूरा गर्नका लागि परीक्षामा सफल भएर राष्ट्र सेवक कर्मचारी बन्न आग्रह गरे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगरपालिकाले लोक सेवा आयोगको बाटो मात्रै देखाएको भन्दै सफलताका लागि आफै मेहनतका साथ अगाडि बढ्नु पर्ने बताए । कार्यक्रममा शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पाका स्ववियु सभापति ल्याकत अली, सहभागी विद्यार्थी सुरक्षा घिमिरे, पुजा पँगेनी र संगीता बस्याल लगायतले लोक सेवा आयोग बारे जान्न र ज्ञानको अभिवृद्धिका लागि कक्षा सञ्चालन गरेकोमा नगरपालिकालाई धन्यवाद ज्ञापन गरे ।

सोही अवसरमा लोक सेवा आयोगको तयारी कक्षा अवधिभरमा उत्कृष्ट हुने ३ जना सहभागीलाई पुरस्कृत समेत गरिएको छ । सहभागी मध्ये पुजा पंगेनी, सरिता लम्साल र आकृति भट्टराई उत्कृष्ट सहभागीको रुपमा पुरस्कृत भएका छन् । प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षता, तालिमका संयोजक युवराज पन्थीको स्वागत, योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update