Shittalpati
सिद्धबाबा सुरुङमार्ग : १२ दशमलव ६३ प्रतिशत भौतिक निर्माण सकियो

पाल्पा, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ । निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पछिल्लो केही समय यता कामलाई तिव्रता दिएको हो ।

सुरुङ अहिले ‘ब्लास्ट’ गरेर धमाधम खनिँदैछ । सिद्धबाबा सुरुङमार्ग आयोजनाले आइतबार सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार १२ दशमलव ६३ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ । सुरुङको अहिलेसम्म एक सय ६६ दशमलव २८ मिटर खनिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा खण्डमा पर्ने यो क्षेत्रमा १ हजार १ सय २६ मिटर लामो सुरुङ मार्ग निर्माण कार्य गत माघदेखि शुरू भएको थियो । २ असारसम्म मुख्य सुरुङको उत्तरतर्फ ७६ दशमलव १२ मिटर र दक्षिणतर्फ ९० दशमलव १६ मिटर खनिएको सिद्धबाबा सुरुङ परियोजनाले जानकारी दिएको छ । यसका अलावा मुख्य सुरुङको दुई मुखबीचमा पहिलो बाइपास ३८ दशमलव १ मिटर, दोस्रो बाइपास ३५ दशमलव ३ मिटर र तेस्रो बाइपास ३४ दशमलव १ मिटर खनिएको छ । ती बाइपास क्रमशः १५१, १६१ र १३० मिटर खनिने छ । यस्तै ‘मेन टनेल’को साउथ पोर्टलमा २ हजार ३ सय वर्गमिटरमा भीर सुरक्षाको व्यवस्था गर्नुपर्नेमा अहिलेसम्म १ हजार ४ सय ९५ वर्गमिटर काम भइसकेको छ ।

नर्थ पोर्टलतर्फ एक हजार एक सय मिटरको काम गर्नु पर्नेमा हालसम्म ४ सय ९५ वर्गमिटर सकिएको छ । अबको ४ महिनाभित्र सुरुङको ‘ब्रेक थु्र’ गर्ने योजनासहित काम अघि बढेको आयोजनाले जनाएको छ । आयोजनाकी इन्जिनीयर सविता ज्ञवालीका अनुसार गत जेठ १३ गतेदेखि विस्फोट गराएर तीव्ररूपमा काम भइरहेको हो । ‘मेसिनले मात्र काम गर्न सम्भव नभएपछि दैनिक ३/४ पटक ब्लास्ट गराएर कामलाई तीव्रता दिइएको छ,’ ज्ञवालीले भनिन् । अहिले ३ सिफ्टमा २४ सै घण्टा काम भइरहेको छ । ठेकेदार कम्पनीले पनि ‘म्यानपावर’ थपेर काम गरिरहेको आयोजनाले जनाएको छ । सुरुङको दुवैतर्फबाट निर्माण कार्य धमाधम भइरहेको हो । बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकी सम्मको करिब तीन किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउन लागिएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा २०७८ फागुन १ मा ठेक्का पाएको हो । गत साउन पहिलो साता झरेको पहिरोले सुरुङमार्गको ‘टनेल पोर्टल’ नै पुरिएपछि तीनमहिना बढी समय रोकिएको थियो । सुरुङमार्ग निमार्णका लागि पटक–पटक सडक बन्द गरेर काम हुँदै आएको छ । यही माघको पहिलो सातादेखि मात्र सुरुङमार्गको मुख्य सुरुङ खन्न सुरु भएको हो । निर्माण कार्यको सन् २०२२ मार्च ९ मा ठेक्का सम्झौता भएर २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौता रहेको छ । ठूलो क्षति व्यहोर्नु परेको र त्रासदीमा यात्रा गर्नेुपर्ने बाध्यतामा रहेका स्थानीयहरू सुरुङमार्गको कामले गति लिएपछि भने वर्षौदेखि सुरुङ बन्ने सपना पुरा हुनेमा ढुक्क भएका छन् । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् ।

यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्‍याउने गर्दछ । आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुबैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । सडकको माथिल्लो भागमा सुरक्षा संरचनाहरु बनाइने छ । यसले सडक माथिबाट खस्ने ढुंगाहरुलाई सिधै तल झार्ने छ । सुरुङमार्गको तीन स्थानमा खुला स्थान राखिने भएको छ । आकस्मिक घटना भइहालेमा सोही स्थानबाट उद्धारको काम हुने छ । सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् आयोजनाको छेउमा निस्किने छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update