Shittalpati
तानसेनमा तरकारीको जात्रा !

पाल्पा, विभिन्न समयमा गाइ जात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, भगवती जात्रा निकालिने तानसेनमा बिहीबार भने तरकारी जात्रा निकालिएको छ । सडकमा तरकारी जात्रा निकालेको देखेपछि तानसेनवासी अचम्मित भएका छन् ।

एकाएक शरिर भरी विभिन्न थरीका तरकारीको कपडा लगाएर एक युवा र युवती तानसेन बजारमा देखिए । शिरदेखी पाउँसम्म विभिन्न थरीका तरकारी प्रदर्शन गर्दै हिडेका युवा युवतीसँग भने तानसेन बजारमा सेल्फी फोटो खिच्ने र खिचाउनेहरुको भिडभाड नै देखिन्थ्यो । बजारमा सर्वसाधारणहरुको जिज्ञासा थियो तानसेनमा कुन खालको गाईजात्रा हो ? नत गाईजात्राको बारेमा कुनै व्यानर छ नत कसैले कुनै जानकारी दिन्छ, नत बाजागाजा छ नत लामो र्‍याली छ नै ।  युवा युवतीको शरिर भरी तरकारी प्रदर्शनले तानसेनवासी सबैलाई जिज्ञासु बनाईदियो । युवा युवतीले तानसेन बजारमा आउने स्थानीय कृषकहरुका सबै खाले तरकारीहरु शरिरका विभिन्न अंगहरुमा लगाएर प्रदर्शन गरेका थिए । जात्रा देखेपछि सर्वसाधारणहरु जिज्ञासा राखेका थिए । ‘यस्तो खालको जात्रा कहिल्यै देखिएको थिएन जीवनमा पहिलो पटक देखियो’ तानसेन विशाल बजारमा मासु पसल सञ्चालन गर्दै आएका गोकुल पौडेलले भने । 

तानसेनको बसपार्क टुँडिखेल, भिमसेनटोल, नारायाणस्थान, असनटोल शितलपाटी, मखनटोल हुलाक चोक, सिल्खानटोल हुँदै विशाल बजारसम्म तरकारीको जात्रा प्रदर्शन गरिएको थियो । कलाकारद्धय गोकुल सारु र नानु मगरले शरिरभरी आलु, लसुन, प्याज, टमाटर, भिन्टी, करेला, लौका, बन्दा, काउली, बेगन, सेमी, बोडी, पर्वल लगायतका तरकारीहरु शरिरभरी लगाएर जात्रा देखाएका थिए । हो यो एक किसिमको जात्रा हो, मानिसलाई जिज्ञासा बनाउने जात्रा हो, जात्रामा नत कुनै व्यानर राखिएको थियो नत कसैले जात्रा के को लागि हो भनेर व्याख्या नै गरेको थिए । यो मानिसलाई जिज्ञासु बनाउने नयाँ प्रकृतिको जात्रा हो । मिलनसार उद्यमी महिला सहकारी संस्थाले तानसेन होलाङ्दीमा सञ्चालन गर्दै आएको तरकारी थोक बजारको प्रचार–प्रसार गर्न, उपभोक्तालाई स्थानीय ताजा सफा तरकारीको जानकारी दिन नयाँ शैलीबाट प्रचार–प्रसार अयिभान गरिएको संस्थाकी अध्यक्ष कमला भण्डारीले बताईन । संस्थाले दैनिक रुपमा १० टन तरकारीको कारोबार गर्दै आएको जनाएको छ ।

अहिले पाल्पाको तरकारी बुटवल बजारमा पुग्ने, सोही स्थानबाट विभिन्न भारतीय विषादीयुक्त तरकारी मिसिएर पुनः तानसेनको बजार आउँदा व्यापारीदेखी उपभोक्तासम्म ५० प्रतिशतसम्म लागत महङ्गो पर्ने स्थिती रहेकाले पाल्पाको तरकारीलाई सिधै पाल्पामै खपत गरौ बढी भएको मात्र बाहिर पठाऔं भन्ने सन्देश दिन यो गाईजात्रे तरीकाबाट तरकारी प्रदर्शन गर्दै तानसेन बजारमा हिडेको रेडाका बजार विकास अधिकृत निर्प परियारले बताए । संस्थासँग अहिले पाल्पाका करीव १८ सय कृषकहरु जोडिएका छन् कृषकहरुले उत्पादन गरेको तरकारी ओजन प्रविधीबाट सफा गरी उपभोक्ताको घर–घरमा पुर्‍याउनको लागि नयाँ तरीकाबाट कलाकारहरुको प्रयोग गरेर उपभोक्ताहरुको ध्यान तान्ने काम गरेको रेडा पाल्पाका तरकारी प्रसोधन केन्द्रका प्रबन्धक संजित बहादुर कुवँरले जानकारी दिए ।

संस्थाले तानसेनको होलाङ्दीमा तरकारीको थोक बजार सञ्चालन गर्दै आएको छ । मिलनसार तरकारी थोक बजार सञ्चालनको लागि तानसेन नगरपालिका, लुम्बिनी प्रदेश सरकार, हेफर इन्टरनेशनल र रेडा पाल्पाले आवश्यक सहयोग गर्दै आएका छन् । स्थानीयस्तरमा कृषकहरुलाई व्यव्सायिक बनाउँदै आय आर्जनमा बृद्धि गराउन, उनीहरुको व्यवसायमा हौसल्ला बढाउन, उपभोक्तालाई स्वच्छ, ताजा तरकारीको व्यवस्थापन गर्न मिलनसार तरकारी थोक बजार केन्द्रले निरन्तर काम गर्दै आएको छ । यो सहकारी संस्था महिलाहरुले मात्र सञ्चालन गर्दै आएको सहकारी संस्था हो ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update