Shittalpati
योग गरौं, स्वस्थ रहौं

स्वस्थ रहन योगको महत्वपूर्ण भूमिका रहेको छ । योगले शरीर स्वस्थ राख्नुको साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । प्राचीनकालमा योगकै कारणले कतिपय ऋषिमुनीहरु अध्यात्मिक शक्ति प्राप्त गरेका उदाहरणहरु प्रशस्तै छन् । विश्वमा नै योग प्रमुख आवश्यकता बन्दै गएको छ ।

सबैलाई थाहा नहुनसक्छ, नियमित रुपमा योग गर्नाले जीवनमा कहिल्यै पनि औषधि खानु पर्दैन । चिकित्सकलाई धाइरहनुपर्दैन । त्यसैले योगलाई सबैले व्यवहारिक जीवनमा अपनाउन जरुरी छ । योगले निरोगी बनाउँछ शरीरलाई आकर्षक बनाउन, शान्त चित्त र राम्रो स्वास्थ्यका लागि अन्य कुनै उपाय अपनाउनु पर्दैन । तर मानिसले योगको महत्व जान्दा–जान्दै पनि त्यसो गरेको हुँदैन । योग त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकारात्मक तरिकाले एकसाथ समावेश गर्दछ, अध्यात्मको प्राप्तिका लागि एक दोस्रोसँग जोड्दछ । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ ।

आत्माको परमात्मासँगको मेल नै योग हो । शारिरीक रुपमा स्वस्थ रहनका लागि हरेक वर्षको २१ जुनमा विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर योग दिवस मनाउन लागिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पूर्ण रुपमा स्वस्थ हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा समेत स्वस्थ हुनुपर्ने व्याख्याले योगको महत्व अझ बढाउँदछ । शरीर, इन्द्रिय, मन र आत्माको संयोग नै आयु हो ।

केही वर्षयता नेपालमा पनि योगको महत्व केही बढ्दै गएको छ । गाउँ–गाउँमा समेत योग शिविर सञ्चालन हुने गरेका छन् । यो आफैमा राम्रो हो । अब सबैले योग गर्नु आवश्यक भइसकेको छ । योग दिवस वर्तमानको आवाज हो, आजको समयको सन्देश हो । योगबाट उर्जा प्राप्त हुनुका साथै मानसिक शान्ति, चिन्तामुक्त, कार्यक्षमतामा वृद्धि आदि सकारात्मक गुणको विकास हुन्छ । योग शारीरिक समस्याहरुको समाधान मात्र नभएर जीवनका सम्पूर्ण समस्याहरुको समाधान पनि हो । तसर्थ सफल जीवन जिउन र स्वस्थ रहन सधै योग गरौं । 
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update