Shittalpati
तानसेनको नीति, कार्यक्रम र बजेट : उत्पादन, उत्पादकत्व र रोजगारी उच्च प्राथमिकतामा

पाल्पा, जिल्लाको तानसेन नगर सरकारले नीति, कार्यक्रम र बजेट नगरसभामा पेश गरेको छ । नगर सभाको १५ औं अधिवेशनमार्फत आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम  र बजेट पेश भएको हो ।

शुक्रबार अधिवेशनको पहिलो बैंठकमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले १२० बुँदे नीति तथा कार्यक्रम र उपप्रमुख प्रतिक्षा सिंजालीले बजेट पेश गरेका हुन् । ‘स्वस्थ्य शिक्षित, उद्यमशील, व्यवसायिक, सभ्य र सुखी नागरिक बसोबास गर्ने स्वच्छ, सुन्दर, पर्यटकीय, व्यवस्थित, समावेशी र समृद्ध सांस्कृतिक नगरपालिका’ भन्ने लक्ष्यलाई साकार पार्ने गरी नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख श्रेष्ठले बताए । उनले पेश गरेको नीति तथा कार्यक्रमले संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनलाई जोड दिएको छ भने उत्पादन, उत्पादकत्व र रोजगारीलाई उच्च प्राथमिकतामा राखेको छ । पर्यटन, कृषि क्षेत्रमार्फत युवा उद्यमशीलता र रोजगारसँग जोड्ने गरी नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख श्रेष्ठले उल्लेख गरे । पर्यटकीय क्षेत्रको पूर्वधार विकासका लागि आवश्यकता अनुसार सडक, विद्युत्, पुल पुलेसा, खानेपानी, सार्वजनिक शौचालय, जानकारी पाटीको प्रवन्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ऐतिहासिक पाल्पा दरबार परिसरको विकासको लागि संघ, प्रदेश र पुरातत्व विभागसँग सहकार्य गरिने, अमरनारायण मन्दिर परिसरमा रहेको फुलबारी लगायत वडाहरुमा रहेका खुला क्षेत्रहरुको सौन्दर्यकरण गरिने, भगवती मन्दिरलाई पुरानै संरचनामा निर्माण गर्न आवश्यक पहल गरिने, स्थानीय समुदायको साझेदारीमा ऐतिहासिक टक्सार क्षेत्रलाई खुला संग्रहालयको रुपमा विकास गरिने, स्थानीय संस्कृतिकहरुको संवद्र्धनको लागि श्रीनगर सांस्कृतिक डवलीलाई अधिकतम प्रयोगमा ल्याउन स्थानीय समुदाय र नीजी क्षेत्रसँग सहकार्य गरिने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै कृषि विकास तथा पशु सेवातर्फ कृषि तथा पशुपक्षी बजार सुचना, बजार तथा हाटबजारको पूर्वधार निर्माण, साना सिचाई निर्माण, तालिम तथा सीप विकास, प्रविधि प्रसार, प्राविधिक सेवा, टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास र सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने, किसानलाई विउ, मल, प्रविधि, प्रशोधन, भण्डार कार्यमा प्रत्यक्ष सहयोग तथा सशक्तीकरण गरिने, उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवद्र्धन, विकास तथा बजारिकरणलाई उच्च प्राथमिकता दिइने, व्यवसायिक गाई भैसी, बाख्रा, कुखुरा, बंगुरपालन तथा कृषि विउ, विजन वितरण तथा मौरी घारमा विशेष अनुदानको व्यवस्था मिलाईने, पशु नश्ल सुधार पद्धतीको विकासलाई विस्तार गरिने, जंगली जनावर नियन्त्रणको लागि सफल विकल्पहरु कार्यान्वयनमा ल्याइने नगर प्रमुख श्रेष्ठले बताए । 

युवा रोजगार र स्वरोजगारका कार्यक्रमहरु अगाडि बढाइने, पाल्पाली करुवा, तामा र फलामका भाँडा तथा औजारहरुको उत्पादन र बजारिकरणमा विशेष पहल गरिने जनाइएको छ । यस्तै पाल्पाली ढाकाको विकास, विस्तार र प्रचार प्रसार गर्न नगरपालिका र मातहतका कार्यालयहरुमा कार्यरत जनप्रतिनिधि, कर्मचारीहरुका लागि शुक्रबारका दिन पाल्पाली ढाकाबाट निर्मित पोशाक र ढाका ढोपी लगाउने नीति समेत नगर सरकारले लिएको छ । यस्तै नगर सरकारले द्धन्द्ध पीडित, असहाय तथा एकल महिलाहरुको लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्ने, रोजगार सूचना केन्द्रमार्फत बेरोजगारहरुको तथ्यांक संकलन र अध्यावधिक गरी प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ श्रममा आधारित रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउने समेत नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । बैंठकमा उपप्रमुख सिंजालीले आर्थिक वर्षको लागि १ अरब, ७६ करोड ७६ लाख २०  हजार ९ सय ५७ बराबरको अनुमानित बजेट पेश गरेकी छन् । यो अघिल्लो बजेट भन्दा बढेर आएको छ । नगर सरकारले  आर्थिक वर्ष २०८०÷०८१ मा १ अरब २ करोड ८० लाख ६४ हजार ३ सय ६७ बराबरको बजेट ल्याएको थियो । यस पटक पूँजीगत बजेट बढी देखिएको छ । शहरी शासकीय कार्यक्रमतर्फको पुँजीगत रकमको कारण पुँजीगत खर्च बढी देखिएको उपप्रमुख सिंजालीले बताईन् । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि चालुतर्फ ८४ करोड ७७ लाख ७ हजार ५ सय ७५ (४७.९६ प्रतिशत) र पुँजीगततर्फ ९१ करोड ९९ लाख १३ हजार ३ सय ८२ (५२.०४ प्रतिशत) रहेको छ । आर्थिक विकास क्षेत्रतर्फ ६ करोड २ लाख ४६ हजार १ सय ४९, भौतिक पूर्वधार विकासतर्फ ८३ करोड ८१ लाख ९२ हजार ४ सय ५३, सामाजिक विकासतर्फ ६९ करोड ३७ लाख ५९ हजार ४ सय ७२, सुशासन तथा संस्थागत विकासतर्फ १४ करोड ८८ लाख ३७  हजार ७ सय २, वातारण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ६५ लाख ८५  हजार १ सय ८९ रहेको उपप्रमुख सिंजालीले उल्लेख गरिन् ।

यस्तै बैंठकमा आर्थिक विकास समितिका संयोजक हेमन्तराज शाक्यले आर्थिक विधेयक २०८१, उपप्रमुख प्रतिक्षा सिंजालीले विनियोजन विधेयक २०८१, मध्यकालीन खर्च संरचना २०८१, न्यायक समितिको चालु आ.व. को हालसम्मको प्रतिवेदन, विधायन समितिका संयोजक महेश्वर श्रेष्ठले लैंङिक समानता, अपाङ्ता, तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१, प्रज्ञा प्रतिष्ठान विधेयक २०८१ समेत पेश गरेका छन् ।  सभामा  पेश गरेका प्रतिवेदन, विधेयक माथि असार २८ गते बस्ने नगर सभाको दोस्रो बैंठकमा व्यापक छलफलसहित पारित गरिने नगरप्रमुख श्रेष्ठले बताए । सभाको नगरप्रमुख श्रेष्ठको अध्यक्षा, सूचना अधिकृत भरत आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो । सभामा सदस्य सचिव तथा प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।   

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update