Shittalpati
गाई तस्करी रोकौं

नेपालमा भारतीय सीमा क्षेत्रको प्रयोग गरेर गाई गोरुको अवैध तस्करी बढेको छ । विशेष गरेर यो तस्करीमा प्रहरी समेतको संलग्नता भएको आशंका गरिएको छ । तस्करीमा संलग्नहरुलाई प्रहरी र प्रशासनले कारवाहीका लागि पहल नगर्नु पनि समस्याकै रुपमा देखा परेको अवस्थाप्रति सरोकारवाला गम्भीर भएका छैनन् । गांै हत्याका लागि अभिप्रेरित गर्ने खालको नीति भएका कारण पनि यस्ता समस्याहरु दिनप्रति दिन बढ्दै गएका छन् । खुला सीमा, अनि चौपाएको अवैध निकासी प्रठारीलाई नियन्त्रण र व्यवस्थित गर्ने खालका कानून र त्यसको कार्यान्वयनमा पनि समस्या देखा परेका छन् ।

गत साता भारतीय सीमा क्षेत्र कपिलवस्तु र आसापासका क्षेत्रबाट निकासी भई चन्द्रौटा, बुटवल, पाल्पा, गुल्मीको रिडी हुँदै कालीगण्डकी करिडोरको बाटोबाट पोखरातर्फ लगिदै गर्दा दुई ट्रक गाई गोरु स्थानीयको पहलमा गुल्मीबाट स्थानीयले प्रहरीको जिम्मा लगाए । तर केही समयमै प्रहरीले कुनै पनि कारवाही अगाडि नबढाई गाई गोरु राखिएका दुई वटै ट्रकलाई जुन बाटोबाट आएका हुन सोही बाटोबाट फर्काइ दिएको छ । यसरी तस्करीमा लागेका गिरोहको मनोबल झन बढ्ने देखिन्छ ।

गाई गोरुलाई पासविक रुपमा प्राण पखेरु नै जाने गरी ट्रकमा अनावश्यक लोड हत्याका लागि लगिदै गर्दाको क्षण अत्यन्तै कारुणिक देखिन्थ्यो । यस्ता गैरकानूनी रुपमा कार्य गर्ने समूहलाई कानूनी दायरामा ल्याउँनु पर्ने कुरामा स्थानीय प्रशासन कमजोर देखिएको छ । यसको समाधानका लागि प्रहरी, प्रशासन र स्वयंम जनता नै गम्भीर भएर लाग्नुपर्ने कुरामा सबैको ध्यान जान जरुरी छ । यस्ता खालका गतिविधीलाई कानूनी र व्यहारिक रुपमा नरोक्ने हो भने, मुलुक गो हत्याको अखडा बन्ने बाहेक केही पनि हुन सक्दैन । तसर्थ यस्ता कार्यलाई रोक्नुको कुनै पनि विकल्प छैन ।  
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update