Shittalpati
बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९९ करोडको बजेट

बुटवल, बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा आगामी आर्थिक वर्षको लागि उक्त रकमको बजेट ल्याएकी हुन् ।

उनले चालुतर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको बजेट सभामा पेश गरेकी छन् । उपप्रमुख अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिदै पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई बजेटमा समावेश गरिएको जानकारी दिइन् । बुटवलले आगामी आर्थिक वर्षमा वडा नम्बर १३ र १७ मा निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन गर्ने गरी बजेट ल्याएको छ । वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल र १७ मा जनरल अस्पताल सञ्चालन गर्ने गरी पर्याप्त बजेट विनियोजन गरेको अर्यालले बताइन् । यस्तै, बुटवलले निजी तथा सार्वजनिक क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत् बुटवल ११ मा १ सय बेडको अस्पताल स्थापनाका लागि ५ करोड रुपैयाँ छुट्याएको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ, नगरमातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधासम्पन्न बनाउन  १ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताइन् ।

बुटवलले बुटवलबासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निशुल्क उपलब्ध गराउने, जेष्ठ नागरिक लक्षित बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह गर्ने र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तरगत गर्भवती महिलालाई निशुल्क प्रयोगशाला सेवालाई निरन्तरता दिएको छ । शिक्षातर्फ असहाय, विपन्न तथा अल्पसंख्यक समुदायका बालबालिकालाई छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्री उपलब्ध गराउने उदेश्यका साथ नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने कार्यक्रम ल्याएको उपप्रमुख अर्यालले बताइन् ।  बुटवलले शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधार विकासको लागि पूर्वाधार विकास कार्यक्रमअन्तरगत ५ करोड छुट्याएको छ । बजेटमा सञ्चार क्षेत्र सबलीकरण गर्ने, सञ्चारग्राम स्थापना गर्ने, किसानलाई पाडी वितरणमा अनुदान दिने, परम्परागत सीप आरन खरिद तथा सञ्चालनमा अनुदान दिने कार्यक्रम समावेश छन् । बैठकमा नगर प्रहरी ऐन र अन्य केही ऐनहरु संसोधनका लागि टेबुल भएका छन् । बुटवलको नगरसभाको आगामी बैठक २१ गते बोलाइएको छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update