Shittalpati
नगरलाई ‘हरित सहर’ घोषणा गरी ‘हिल स्टेसन’ निर्माण गरिने

गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिकाले नगरलाई ‘हरित सहर’ घोषणा गरी हिल स्टेसन निर्माण गर्ने भएको छ । नगर सरकारले आर्थिक वर्ष २०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरी  दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको हो  ।

नगर क्षेत्रभित्र अनुत्पादक रुखहरू हटाई बरपिपल, स्वामीका रुखहरू र उत्पादनमुखी रुख, फलफूल तथा जडीबुटीहरू रोपण र संरक्षण गरि नगरलाई हरित सहरका रुपमा विकास गरिने नगर प्रमुख खिलध्वज पन्थीले बताए । बढ्दो सहरीकरणलाई व्यवस्थित, विकसित र वातावरणमैत्री बनाउने अभियानअन्तर्गत हरित सहरको अवधारणा ल्याइएको पन्थीको भनाई छ । उनले पेश गरेको आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम अनुसार आधुनिक सुविधासम्पन्न सहर निर्माण गर्ने अभियान चलाइने भएको हो । यसअन्तर्गत सहरलाई हरित सहर बनाउने कार्य अभियानका रुपमा सञ्चालन गरिनेछ । अभियानअन्तर्गत नगरलाई पर्याप्त हरियाली सहितको वातावरणमैत्री सहरको रुपमा विकास गरिने योजना अघि सारिएको छ । हरित सहरका लागि ती क्षेत्रमा पर्याप्त बगैँचा निर्माण, वृक्षारोपण, सडक किनाराका खाली ठाँउमा छिटो बढ्ने प्रकृतिका रुख रोप्ने, पार्क निर्माण गर्नेलगायत कार्य गरिने छ । ‘स्वाच्छ नगर स्वस्थ नागरिक’ भन्ने मूल नाराका साथ नगरपालिकाका प्रत्येक घरमा सम्भव भएसम्म कम्तिमा दुईवटा फलफूल तथा सौन्दर्यीकरणका बिरुवा रोप्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गर्ने लक्ष्य नगरपालिकाको छ । यस्तै ‘उज्यालो सहर जनताको रहर’ भन्ने नारालाई साकार तुल्याउन नगरपालिकाभित्रका बजारक्षेत्रमा स्मार्ट लाइट जडान गरिने नीति नगरपालिकाको छ । नगरपालिकाले जिल्लाको पर्यटकीय क्षेत्र पहिचनासहित हिल स्टेसन निर्माण गरिने नगर प्रमुख पन्थीको भनाई छ । यस्तै नगरलाई स्मार्ट सिटीको रुपमा विका गर्न आवश्यक भौतिक पूर्वाधार तथा प्रविधिको उच्चतम प्रयोग गर्दै लगिने  जनाइएको छ । ‘नागरिकसँग मेयर कार्यक्रम’ मार्फत नगरपालिकाका सबै वडाहरूमा पुगी सेवा प्रवाह, विकास निर्माणलगायतका विषयहरूमा नागरिकसँग समय–समयमा साक्षात्कार गरिने कार्यलाई निरन्तरता दिइने  नगर प्रमुख पन्थीले बताए ।

रेसुङ्गाको धार्मिक महत्वलाई प्रर्वद्धन गर्न भारतको अयोध्या र गोरखपुरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गरिने समेत उनले बताए । कक्षा ८ भन्दा माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीलाई पढाइसँगसँगै सीपसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने समेत नीति कार्यक्रम छ । ‘आमासँग उपमेयर कार्यक्रम’ मार्फत गर्वभती महिला लक्षित विभिन्न सूचना र सन्देशमूलक कार्यक्रम सञ्चालन गरिने, गर्वभती महिलालाई सुत्केरी सेवा लिनका लागि एकोहोरो यातायात खर्च उपलब्ध गराउने पनि नीतिमा उल्लेख छ । नगरको सम्मुन्नतिका लागि विश्व बैंक, एसियाली विकास बैंकलगायतका अन्य दातृ तथा साझेदार निकायसँगको समन्वयमा विकास निर्माणको कार्य अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update