Shittalpati
काँग्रेस आगामी चुनाव एक्लै लड्छ :  नेता पन्त

भरत शर्मा 

पाल्पा, नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले आगामी चुनाव एक्लै लड्नु पर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाज पाल्पाको रामपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले आगामी चुनावमा हारे पनि एक्लै लड्नुपर्ने बताएका हुन् ।

गत निर्वाचनमा कम्युनिष्टसँग गठबन्धन गरेर चुनाव लड्दा नेपाली काँग्रेसलाई कुनै  पनि फाइदा नभएको भन्दै अबको चुनावमा काँग्रेस एक्लै लड्ने नेता पन्तले धारणा व्यक्त गरे । उनले भने, ‘हामी आगामी २०८४ को चुनावमा एक्लै लड्नुपर्छ, गठबन्धन गरेर होइन । हारे पनि एक्लै चुनाव लड्न हामी सक्षम हुनुुपर्छ , त्यसैले अहिलेदेखि नै तयारी थालौं ।’ नेता पन्तले अबको आवश्यकता भनेको काँग्रेस एकतावद्ध भएर जिम्मेवार पार्टी बन्नुु रहेको बताए ।पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेकाले नेताहरु सुध्रिनुपर्नेमा समेत उनले जोड दिए । नेता पन्तले २०४८ सालमा लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न स्वर्गीय गिरीजाप्रसाद कोइरालाले प्रजातान्त्रिक विचार समाज स्थापना गरेको बताउँदै विभिन्न पेशागत संगठनमा लागेकाहरुले नेपाली काँग्रेसलाई बलियो शक्ति बनाउन आवश्यक रहेको औल्याए । कार्यक्रममा समाज पाल्पाका संस्थापक अध्यक्ष त्रिलोचन पौडेलले काँग्रेसको आन्तरिक विवादले गर्दा नै पार्टी पछाडी धकेलिएको बताए । उनले राजनीतिमा व्यक्तिको होइन विचारको हुुनुुपर्ने धारणा व्यक्त गरे ।

समाजका जिल्ला अध्यक्ष प्रा.डा. रामजी प्रसाद पौडेलले नेपाली काँग्रेस भित्र देखिने गरेको गुठ उपगुठको अन्त्य नगर्दासम्म कार्यकर्ता विचलित हुने बताउँदै नेतृत्व तहले यसको समाधान गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु देवराज ढकाल, कृष्णप्रसाद बस्याल, रामबहादुर कार्की, यमलाल तिमिल्सीना, केशवराज शर्मा, रमा पन्त , ज्ञानप्रसाद भण्डारी, देवबहादुर राना, शुक्र भण्डारी, सुन्दर देवकोटा, दुुर्गादेवी भण्डारी, बोमबहादुर थापा, हलिमदिन मियाँ, लगायतले नेपाली काँग्रेस एकजुट  हुनुको विकल्प नभएको बताए । समाजका अध्यक्ष रामजीप्रसाद पौड्यालको अध्यक्षता, सदस्य हुमनाथ न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update