Shittalpati
एचआईभी रोकथाममा नार्डेक

पाल्पा, जिल्लामा एचआईभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालाहरुसँग समन्वय तथा समीक्षा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजना र राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपालको समन्वयमा सोमबार तानसेनमा कार्यक्रमको समन्वय तथा समीक्षा गरिएको हो । 

नार्डेकले ग्लोबल फण्ड अन्तर्गत  सेभ द चिल्ड्रेनसँगको साझेदारीमा गुल्मी र पाल्पामा सञ्चालन गरेको  प्रवासी र तिनका दम्पतीहरुको लागि लक्षित गरी एचआईभी/टिभी रोकथाम कार्यक्रमको सरोकारवालाहरुसँग बसेर गर्न सकिने समन्वय र हालसम्म गर्दै आएका गतिविधिहरुको उपलब्धीका विषयमा समीक्षा गरेको हो । कार्यक्रममा एचआईभी एड्स रोकथाम तथा सहयोग र हेरचाह कार्यक्रमअन्तर्गत प्रवासी कामदार र तिनका परिवार बीचमा सुरक्षित यौन व्यवहारलाई प्रोत्साहन गर्ने र यौन रोग तथा एचआईभी एड्स नियन्त्रण गर्ने उद्देश्यले नार्डेकले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको सहभागीहरुले बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले चुुनौतिका रुपमा रहेको एचआईभी एड्स रोकथामका लागि संस्थाबाट भएका प्रयासहरु महत्वपूर्ण रहेको बताए । उनले भने ‘ सचेतना र जानकारीको अभावका कारण संक्रमण फैलिन सक्ने हुन्छ, त्यसका लागि नार्डेकले केही हदसम्म भए पनि रोक्नको लागि गरेका प्रयासहरु उपलब्धीमूलक नै छन् ।’ समन्वय समितिकी उपप्रमुख काशिका ज्ञवाली गैरेले स्थानीय तहहरुसँगको समन्वयमा समाजमा सचेतनाका कार्यक्रमहरुलाई थप प्रभावकारीताका साथ अगाडि बढाउनुुपर्ने बताईन् । स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले एचआईभी संक्रमणको औषधि र उपचार निःशूल्क भए पनि जानकारी नहुँदा  र समाजमा अपहेलित हुने डरका कारण संक्रमितहरु  खुुलेर आउन नसकेको अवस्थामा नार्डेक जस्ता संस्थाहरुले चालेका प्रयासहरुका कारण केही सहज भएको बताए । उनले संक्रमणको अवस्थालाई फैलिन नदिन यस्ता कार्यक्रमहरु महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

डा. गिरीले परियोजनाको सम्झौता सकिन थाले पनि जिल्लाका स्थानीय सरकारहरुसँग समन्वय गरेर कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।कार्यक्रममा परिवार नियोजन संघ पाल्पाका प्रवन्धक शोवाकान्त न्यौपाने, क्षयरोग निवारण संघ पाल्पाकी अध्यक्ष शोभा शाक्य, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल लगायतले एचआइभी संक्रमितहरुको सहजताका लागि गैरसरकारी संस्थासँगै स्थानीय तहहरुले पनि आवश्यक सहयोग  गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा नार्डेककी कार्यक्रम अधिकृत कमला विश्वकर्माले संस्थाको परिचय, गरेका गतिविधि, उपलब्धी र चुनौतीका विषयमा जानकारी गराएकी थिइन् । उनले १ जनवरी २०२४ देखि ३१ मे २०२४ सम्म संस्थाले गरेका गतिविधिका बारेमा जानकारी गराएकी हुन् । अधिकृत विश्वकर्माले  ३ हजार ५ सय जना आप्रवासी तथा उनीहरुको दम्पतीमा व्यवहार परिवर्तनका लागि शिक्ष तथा भेटघाट गर्ने लक्ष्य राखेकोमा ४ हजार १ सय १ जना अर्थात् ११७ प्रतिशतमा गरिएको , ४ हजार ४ सय १० को  एचआईभी परीक्षण गर्नुपर्ने लक्ष्य राखेकोमा ४ हजार १ सय ८८ अर्थात् ९४ प्रतिशतमा गरिएको, ३ जना नयाँ संक्रमित पत्ता लगाउने र एआरटी उपचारमा संलग्न गराउनुु पर्नुमा १ जना अर्थात् ३३ प्रतिशत उपलब्धी हासिल गरिएको बताईन् ।

यस्तै ४ हजार ४ सय १० जनाको क्षयरोग स्किनि· गर्नुपर्नेमा ४ हजार ३ सय २३ जनामा गर्न सफल भएको पनि उनले बताईन् । कार्यक्रममा  सहयोग तथा हेरचाहमा प्रतिवद्धा समूहकी प्रमुख  अस्मिता भण्डारीले आफ्नो संस्थाले गरेका गतिविधिका बारेमा उल्लेख गरेकी थिइन् । कार्यक्रममा स्वास्थ्य कार्यालयका एचआईभी/ टिभी सम्पर्क व्यक्ति विश्वनाथ न्यौपानेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै पाल्पामा ३ सय ३९ जना एचआईभी संक्रमित रहेको  बताए । 

उनले ति संक्रमितहरुको मिसन र रामपुर अस्पतालमा उपचार  भइरहेको जानकारी दिए । आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटीसीटी) कार्यक्रम  सञ्चालनमा रहे  पनि संक्रमित भएका केही गर्भवतीहरू अझै पनि निगरानीमा रहेको बताए । संक्रमित गर्भवतीलाई एन्टिरेट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) औषधि नियमित खुवाइने र त्यसले गर्भवतीबाट बच्चामा एचआईभी सार्न रोक्ने न्यौपानेको भनाई छ । संक्रमित गर्भवती नियमित चिकित्सकको सम्पर्कमा रहनुुपर्नेमा उनले जोड दिए । नियमित औषधि प्रयोग नगर्ने आमाबाट भने संक्रमित बच्चा जन्मिने जोखिम रहने न्यौपानेले बताए ।

कामको सिलसिलामा विदेश जाने गएकाहरू असुरक्षित यौन सम्पर्कबाट एचआईभी संक्रमणको बढी जोखिममा पर्ने गरेको नार्डेकले जनाएको छ ।असुरक्षित यौन व्यवहार भएकाहरूले घर फर्केपछि श्रीमतीलाई सार्ने गरेका छन् । चिकित्सकहरूका अनुसार असुरक्षित यौन सम्पर्कले हुने एचआईभीको संक्रमण गर्भवती आमाबाट सिधै नवजात शिशुमा सर्छ । तर, संक्रिमत भएको पुष्टि भइसकेकामध्ये निकै कम व्यक्ति उपचारका लागि पुग्ने गरेका कारण जोखिम बढाएको छ । सामाजिक बहिष्करणमा पर्ने त्रासका कारण कतिपयले रोग लुकाउने गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update