Shittalpati
प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित

पाल्पा, प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१÷०८२ को बजेट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्षको बजेट बहुमतले पारित भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले राखेको विनियोजन विधेयक (बजेट) पारित गरियोस् भन्ने प्रस्ताव पारित भएको उपसभामुख इन्दिरा रानाले घोषणा गरेकी थिइन् । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गतको दफावार छलफल सकिएसँगै सांसदहरूले राखेका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्ततु गरिएका थिए । विभिन्न मन्त्रालयका लागि विनियोजनमा ३१ जना सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए । जुन बहुमतले अस्वीकृत भएका छन् । खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

प्रतिनिधिसभमा जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल निरन्तर चलेको थियो । अर्थमन्त्री पुनले जेठ १५ मा सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । प्रतिनिधिभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका निकायको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएसँगै मन्त्रालय, कार्यालय तथा निकायका लागि विनियोजन माथिको छलफल सकिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update