Shittalpati
विद्यार्थीसँग पुष्पलाल  

पाल्पा, पुष्पलाल स्मृती प्रतिष्ठान नेपालले विद्यार्थीसँग पुष्पलाल अन्तक्र्रिया कार्यक्रम गरेको छ । प्रतिष्ठानले पुष्पलाको १०० औं जन्मोत्सवको अवसरमा  विद्यार्थीसँग पुष्पलाल कार्यक्रम गरेको हो । 

प्रतिष्ठानले जनता माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुसँग पुष्पलालको जीवनी, व्यवहार, काम कर्तव्य जिम्मेवारी, राजनीतिक आन्दोलन तथा परिवर्तन तथा नेपालमा प्रजातन्त्र पुर्नवहालीको लागि खेलेको भूमिकाका बारेमा चर्चा गरेको थियो ।  कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले पुष्पलाल एक परिवर्तनकारी नेपाली योद्धा भएको, सर्वहारा, श्रमजिवीहरुको नेतृत्वगर्ने सादा जीवन उच्च विचारका व्यक्ति रहेको बताए । उनले विद्यार्थीहरुले जीवन सफल बनाउन, देशलाई माया गर्न, देश विकासको भावना जागृत गर्ने पुष्पलाल, विपी कोईराला जस्ता सादा जीवन उच्च विचारका व्यक्तिहरुको जीवनी दर्शनहरु अध्ययन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवं तानसेन नगरपालिकाका पूूर्व नगर प्रमुख अशोक कुमार शाहीले पुष्पलालको जीवनी सर्घषका कथाहरु सबै व्यक्तिहरुले अध्ययन गर्नुपर्नेमा जोड दिए । युवा तथा विद्यार्थी वर्गले पुष्पलालको जीवनीबाट धेरै कुराहरु सिक्ने, देशप्रेमको भावना जागृत हुने, स्वदेशमा केही गर्नुपर्छ भन्ने भावनाको विकास हुने उनले विश्वास व्यक्त गरे । अहिलेका युवा तथा विद्यार्थीहरुले राजनीतिक चेतनामा चासो दिनुपर्ने अन्यथा भोलीका दिनमा राजनीतिक नेतृत्व गर्ने युवा जमातको कमी हुने पुर्व नगर प्रमुख शाहीले बताए । 

कार्यक्रममा जनता माविका व्यवस्थापन समितिका अध्यक्ष रामजी पोखरेलले व्यक्तिगत स्वार्थ, संर्किण भावना भन्दा माथी उठेर देश र जनताको हितमा काम गर्ने नेपाली क्रान्तीका अगुवा रहेकाले सबै विद्यार्थीहरुले पुष्पलालको जीवनी अध्ययन गर्नुपर्ने र असल कर्महरु आफ्नो व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सन्तोष खनालले नेपालमा रहेका ठूला पार्टीहरु नै पुष्पलाल र विपी कोईरालाको दर्शन विचारबाट नै सञ्चालित भएकाले विद्यार्थीहरुले आफ्नो भविष्य राम्रो बनाउन पनि राजनीतिक दर्शन विचार बुझ्नु पर्ने बताए । पुष्पलालले नेपाल तथा प्रजातान्त्रिक व्यवस्था ल्याउन खेलेको भूमिका, २००६ सालमा नेकपाको स्थापना, २०१५ सालको आम निर्वाचन, पञ्चायती शासन व्यवस्था हटाउन खेलेको भूमिका बारे सहायक क्याम्पस प्रमुख खनालले विद्यार्थीहरुलाई जानकारी गराए ।  

कार्यक्रममा विद्यार्थी अञ्जु क्षेत्रीले पुष्पलालको जीवनी तथा संघर्षका कुराहरु राम्रोसँग जान्ने मौका पाएको बताईन् । विद्यार्थीहरुलाई पुष्पलाल, विपि कोईराला जस्ता नेपालका महान नेताहरुको जीवन दर्शन आजकलका युवा तथा विद्यार्थीहरुलाई  जानकारी दिने सही समय भएकाले विद्यार्थीसँग पुष्पलाल कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराईले बताए । प्रतिष्ठानका अध्यक्ष भट्टराईको अध्यक्षता, उपाध्यक्ष गोपाल प्रसाद बस्यालको स्वागत, सचिव गणेश ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो । पुष्पलालको जन्म विसं १९८१ असार १५ मा भएको थियो भने  २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।  
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update