Shittalpati
लागू पदार्थ र अवैध तस्करी रोक्न सबै जुटौं

देशका प्रमुख सहरहरु लागू पदार्थ ओसारपसार तथा बिक्रीवितरणको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएका छन् । भारतीय सीमा क्षेत्रबाट भित्रिएका लागूऔषध तराईका जिल्ला हुँदै ठूला सहरमा बिक्रीवितरण हुने गरेको पाइएको छ । लागु पदार्थले मानिसको शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउँछ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँछ ।

कानुनद्वारा निषेधित गाँजा, अफिम, हेरोइन, मर्फिन, कोकिन आदि अवैध लागु औषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागु पदार्थ हो । तर यिनीहरुको प्रयोग र कारोबार निर्वाध रुपमा हुँदै आएको छ । प्रहरी प्रशासनले भने यस्ता कारोबारीको जालो भत्काउन सकेको छैन । प्रहरीले बेला–बेलामा विभिन्न स्थानबाट प्रतिवन्धित लागूऔषधसहित कारोबारीहरुलाई पक्राउ गरेर लागू पदार्थ नियन्त्रणमा सक्रियता देखाउँदै आएको भए पनि कानुनको कडा रुपमा कार्यान्वयन हुन सकेको छैन् ।

विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउन हरेक वर्षको जुन २६ तारिखमा अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस मनाउने गरिन्छ । आज पनि देशभर यो दिवस मनाइँदै छ । हरेक वर्ष यो दिवस मनाउने गरिए पनि लागू पदार्थ तथा अवैध तस्करी नियन्त्रणमा चुनौती बढ्दै गएको छ । यो अत्यन्त दुखको कुरा हो । लागूऔषध प्रयोगकर्ता दिनहुँजसो बढिरहेका छन् । विशेष गरी अधिकांश प्लस टुका विद्यार्थी देखिनुले झनै चिन्ता बढाएको छ । लागूपदार्थको अवैध ओसारपसार, कारोबार एवं आपूर्तिमा कडाइका साथ नियन्त्रण नगर्ने हो भने अपराधिक क्रियाकलाप बढ्नुको साथै समाजमा अशान्ति पैदा हुन्छ । विभिन्न पेसा र आवरणमा लागू पदार्थको कारोबारी गर्ने व्यक्तिहरुको सूक्ष्म अनुसन्धान गरी नियन्त्रण गर्नुपर्छ । त्यसका लागि प्रहरीको अभियानमा नागरिक समाज, अभिभावक र शैक्षिक संघसंस्थाको भूमिका झनै महत्वपूर्ण रहन्छ । यसर्थ लागू पदार्थ र अवैध तस्करी नियन्त्रणका लागि सबैले हातोमालो गरेर अगाडि बढ्न जरुरी छ । 
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update