Shittalpati
पाल्पामा लागुऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी (तस्बिरहरू)

पाल्पा, लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पाल्पामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । ‘लागुु औषध दुुरुपयोग विरुद्ध लडौं : रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ जिल्ला सुरक्षा समिति र जिल्ला प्रहरी कार्यालय पाल्पाको संयुक्त आयोजनामा बुधबार  र्‍याली तथा प्रभात भेरी कार्यक्रम गरी मनाइएको हो ।

समितिले विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी साताव्यापी कार्यक्रम गरेको छ । प्रभात फेरी कार्यक्रममा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, शिक्षक, टोलविकास संस्थाका प्रतिनिधिहरुले सचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड लिएर तानसेन नगर परिक्रममा गरेका थिए । जिल्ला प्रशासनबाट निस्किएको र्‍याली तेस्रो सडक, पेट्रोलपम्प, टक्सारटोल, शितलपाटी, नारायणस्थान हुँदै टुँडिखेल पुुगेर समापन भएको थियो ।

समापन कार्यक्रमलाई तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक बर्षको जुन २६ मा संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस मनाउने गरिएको बताए । उनले विश्वव्यापी रूपमा फैलिएको लागुऔषधको अवैध कारोबार तथा सेवनका कारण पर्ने व्यक्तिगत, पारिवारिक र सामाजिक असरबाट नेपाल पनि प्रभावित भएको भन्दै त्यसलाई रोक्न सबै पक्ष लाग्नुुपर्नेमा जोड दिए ।
नगर प्रमुख श्रेष्ठले स्थानीय सरकारले समेत लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढ्ने उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले खुला सीमाका कारण लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएकाले त्यसको नियन्त्रणमा सबैको साथ आवश्यक रहेको बताए । उनले लागुऔषध एक जना व्यक्तिको नभई सिङ्गो समाजको समस्या भएकाले समाज नै मिलेर यसको सामना गर्नुपर्नेमा जोड दिए । प्रजिअ काफ्लेले भने ‘लागुऔषधको प्रयोग वृद्धि हुनु भनेको स्वतः अपराधिक क्रियाकलाप पनि वृद्धि हुनु हो, यसको नियन्त्रणका लागि सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको छ ।’ लागु औषध नियन्त्रणका लागि गाउँ–गाउँमा सचेतनाका कार्यक्रम गरिदै आए पनि प्रहरीको मात्रै सक्रियताले लागुऔषध नियन्त्रण सम्भव नभएको भन्दै घरपरिवार, विद्यालय, समाज सबैले यसको निगरानी राख्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा लामो समय लागुुऔषध दुुव्र्यसनीमा फसेर अहिले छोडेका बगनासकाली घोरबन्दका प्रेमबहादुर कुमाल ( प्रेम ठेकदार) ले आफ्नो अनुुभव सुनाएका थिए । उनले घरमा आमा बुुवाले रक्सी खाने गरेका कारण आफुुले पनि खाना सिकेको बताए ।
२४ सैं घण्टा रक्सी खाएर सम्पति सकेको र सन्तानबाट अपहेलित भएका कुमालले अहिले रक्सी खाना छोडेर घोरबन्दामा हिमचुली बंगुर फर्म खोलेर बार्षिक १६ लाख आम्दानी गर्दै आएका छन् ।
कुमालले अहिले रक्सी छोडेर व्यवसायिक बंगुुर पालन मात्र गर्दैनन् नयाँ सुुरुवात नेपाल भन्ने संस्थामा आवद्ध भएर कुलतमा फसेकाहरुलाई परामर्श दिने काम समेत गर्दै आएका छन् ।

 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update