Shittalpati
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

दाङ, लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबारको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले असार १ गते बजेट प्रस्तुत गरेका थिए । मन्त्री आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेका हुन् ।

बजेटको पक्षमा एमाले, माओवादी, नागरिक उन्मुक्ति, जसपा र नेकपा एकीकृत समाजवादीले ध्वनी मत दिएका थिए । कांग्रेसले विपक्षमा र जनमत, राप्रपा, लोसपा तटस्थ बसेपछि बजेट बहुमतले पारित भएको हो । बजेटमाथि आइतबारदेखि निरन्तर छलफल भएको थियो । मंगलबार र बुधबार प्रदेशसभाको सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि मन्त्रालयगत छलफल भएको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि  ३८ अर्ब ९७ करोडको बजेट पेस गरेका थिए । आगामी वर्ष आन्तरिक राजस्वमार्फत  सात अर्ब ५१ करोड र संघबाट १२ अर्ब एक करोड र संघबाट सलामी दस्तुरबापत  ५० करोड र स्थानीय तहबाट दुई अर्ब ९२ करोड प्राप्त हुने अनुमान छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update