बर्खाको मौसम सुरु भएको छ । मनसुन आगमनका संकेत आउन लागेका छन् । योसँगै बाढीपहिरोको चिन्ता सुरु भएको छ । मनसुन सुरु हुँदा चिन्ता होइन खुसियालीको प्रारम्भ हुनुपर्ने हो तर विडम्वना हाम्रोमा विभिन्न कारणले खुसियाली पनि चिन्तामा परिणत हुनेगर्छ । बाली सप्रिनका लागि नभई नहुने मनसुन भित्रिँदा पनि हामी चिन्तित बन्नुपर्ने बाध्यता छ ।
पानी पर्नु खेती–किसानी गर्नेहरूका लागि उत्साह र हर्षको कुरा भए पनि अध्याधिक पानी पर्दा हुने प्राकृतिक विपत्तिले भने चिन्ता उत्पन्न गराउने गरेको छ । विशेष गरी मनसुनका कारण पहाडमा बाढी र पहिरोको चिन्ता बढ्दो अवस्थामा रहेको छ भने तराईमा बाढीका कारण डुबानमा पर्ने चिन्ताले जनताको निद्रा हराउन थालेको छ । यस वर्ष मुलुकभर औसतभन्दा बढी वर्षा हुने पूर्वजानकारी सार्वजनिक भएपछि जनतामा थप त्रास र भय फैलँदो अवस्थामा रहेको छ । हरेक वर्ष बाढी पहिरोका कारण ठूलो जनधनको क्षति हुने गरेको छ । जसका कारण मनसुन सुरु हुन साथ आमनागरिकमा खुसीसँगै चिन्ता समेत बढ्ने गरेको छ ।
विकासका नाममा जथाभावी जमिन भत्काउने कार्याले भू–क्षय निम्त्याउने गर्दछ । जसले गर्दा मानव समुदायले ठूलो क्षति बेहोर्नु परेको छ । प्रकृतिजन्य प्रकोपबाट हुन सक्ने क्षति रोक्न पूर्वतयारी गर्नु नै अहिलेको आवश्यकता हो । तर सरकारी तवरबाट यसको कुनै पनि तयारी भएको देखिदैन । प्रकृतिजन्य प्रकोप नियन्त्रणका लागि तयारी अवस्थामा रहनुपर्ने गृह मन्त्रालय नै अहिले कामभन्दा कुरा बढी गर्ने र पूर्वतयारीमा सिन्को नभाँच्ने देखिएको छ । गृहमन्त्री रवि लामिछानेलाई प्रकृतिजन्य प्रकोप नियन्त्रणभन्दा पनि प्रहरीको सरुवा–बढुवामा चाख बढ्दो अवस्थामा रहनु अनि शान्ति सुरक्षा कायम राख्न नसक्नुले मन्त्रीको पदीय हैसियतमाथि प्रश्न उठेको छ । सरकारले मनसुनजन्य प्रकोपबाट बच्नका लागि गाउँ–गाउँमा पुर्याउनुपर्ने सचेतना पुर्याएको देखिँदैन । प्रकृतिजन्य प्रकोपबाट आमनागरिकलाई बचाउन सरकार गम्भीर हुनुपर्ने र जनता सचेत हुनुपर्ने जरुरी छ ।