Shittalpati
रक्सीको लतबाट छुटेका कुमालको अनुभव,  भन्छन्–‘रक्सीले परिवार र समाजबाटै अपहेलित भइँदो रहेछ’

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका घोरबन्दका प्रेमबहादुर कुमाल (प्रेम ठेकदार) लामो समय रक्सीको लतमा फसे । घरमा आमा बुवाले रक्सी खाने गरेका कारण खाना सिकेका उनी छोड्नै नसक्ने गरी लतमा फसेका थिए । अन्ततः उनले रक्सीका कारण स्वास्थ्य समस्या र परिवार, समाजबाटै अपहेलित जीवन विताउनुपर्ने स्थितिमा पुगेपछि लत नै छोडे । अहिले उनले परिवार, समाजबाट माया मात्र पाएका छैनन्, दुव्यर्सनीमा फसेकाहरुलाई परामर्श समेत दिर्दै आएका छन् ।

रक्सीको लतबाट छुटेका कुमालले बुधबार लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जिल्ला सुरक्षा समिति र जिल्ला प्रहरी कार्यालय पाल्पाले संयुक्त रुपमा आयोजना गरेको र्‍याली तथा प्रभात भेरी कार्यक्रमको समापनमा आफ्ना अनुभव सुनाउँदै लामो समयपछि रक्सीको लतबाट छुट्कारा पाएको बताए । उनले आमा बुबाबाटै रक्सी खाना सिकेको उल्लेख गरे ।कुमालले भने ‘आमा बुवालाई रक्सी लिन जाँदा जाँदै मैले पनि खाना सिकें, गर्दा गर्दै म लामो समय नै रक्सीको लतमा फसे, रक्सी खाँदा श्रीमति, छोराछोरी र समाजबाट अपहेलित र उपेक्षित भएँ । त्यति मात्र होइन मलाई टिभी रोग पनि देखियो । रोग देखिदा पनि मैले रक्सी खाना छाडिन् । तर मेरो स्वास्थ्य अवस्था अत्यन्त नाजुक हुँदै गयो ।

मैलै सोचें अब म बाँच्नु छ र छोराछोरीहरुका लागि के गर्नु छ भने रक्सी खाना छोड्नुपर्छ । मेरा कारण छोराछोरी र श्रीमतिले दुख पाउने भए भनेर भित्रैदेखि आत्मबल बढाएर खाना छोड्दिएको हुँ ।’ उनले भित्रैदेखि आत्मबल बढाएमा रक्सी छोड्न सकिने बताए । कुमालले रक्सी भनेको विनासकारी रोग भएको उल्लेख गरे । उनले भने ‘रक्सी खानेहरुमा आफु बाहेक अरु कसैको चासो हुँदैन । छोराछोरीहरुलाई किताब, कापी किन्न, श्रीमतिलाई लुङ्गी किन्न समेत पैसा हुँदैन तर आफुलाई रक्सी खाना जसरी पनि पैसा हुन्छ ।’  रक्सीले स्वास्थ्यमा मात्रै असर गर्दैन सम्पति र भएको इज्जत समेत सकिने कुमालले बताए ।

उनले अहिले विद्यार्थीहरु लागुपदार्थको लतमा फसेकाले त्यसतर्फ नलाग्न आग्रह गरे । २४ सैं घण्टा रक्सी खाएर सम्पति सकेको र सन्तानबाट अपहेलित भएका कुमालले अहिले रक्सी खाना छोडेर घोरबन्दामा हिमचुली बंगुर फर्म खोलेर बार्षिक १६ लाख आम्दानी गर्दै आएका छन् । उनले त्यही आम्दानीबाट अहिले छोराछोरीलाई राम्रैसँग पढाएको बताए । कुमालले भने ‘मैले रक्सी खाँदा छोराछोरीले कापी किताब, श्रमितिले लुङ्गी किनिदिनुन भन्दा म सँग पैसा छैन् भन्दै हकारें, तर मलाई रक्सी खाना जहाँबाट पनि पुग्यो ।’ अहिले ति दिन सम्झदा नराम्रो लाग्ने गरेको उनले अनुभव सुनाए । कुमालले अहिले रक्सी छोडेर व्यवसायिक बंगुर पालन मात्र गर्दैनन् नयाँ सुरुवात नेपाल भन्ने संस्थामा आवद्ध भएर कुलतमा फसेकाहरुलाई परामर्श दिने काम समेत गर्दै आएका छन् ।

उनले सुरु सुरुमा रक्सी छोड्दा आफुलाई निकै गाह्रो भए पनि पछि सहज हुँदै गएकाले कुलतमा फसेकाहरुलाई छोड्न आग्रह समेत गरे । कुमालले लागुपदार्थले कसैलाई पनि राम्रो नहुने भएकाले अहिलेदेखि नै त्यसबाट टाढा रहन विद्यार्थीहरुलाई अनुरोध पनि गरे । समापन कार्यक्रमलाई सम्बोधन गर्दै तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक वर्षको जुन २६ मा संयुक्त राष्ट्र संघको आÞवानमा यो दिवस मनाउने गरिएको बताए । उनले विश्वव्यापी रूपमा फैलिएको लागुऔषधको अवैध कारोबार तथा सेवनका कारण पर्ने व्यक्तिगत, पारिवारिक र सामाजिक असरबाट नेपाल पनि प्रभावित भएको भन्दै त्यसलाई रोक्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

नगर प्रमुख श्रेष्ठले स्थानीय सरकारले समेत लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढ्ने उल्लेख गरे । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले खुला सीमाका कारण लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएकाले त्यसको नियन्त्रणमा सबैको साथ आवश्यक रहेको बताए । उनले लागुऔषध एक जना व्यक्तिको नभई सिङ्गो समाजको समस्या भएकाले समाज नै मिलेर यसको सामना गर्नु पर्नेमा जोड दिए । प्रजिअ काफ्लेले भने ‘लागुऔषधको प्रयोग वृद्धि हुनु भनेको स्वतः अपराधिक क्रियाकलाप पनि वृद्धि हुनु हो, यसको नियन्त्रणका लागि सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको छ ।’ लागु औषध नियन्त्रणका लागि गाउँ–गाउँमा सचेतनाका कार्यक्रम गरिदै आए पनि प्रहरीको मात्रै सक्रियताले लागुऔषध नियन्त्रण सम्भव नभएको भन्दै घरपरिवार, विद्यालय, समाज सबैले यसको निगरानी राख्नुपर्नेमा उनले जोड दिए ।

प्रभात फेरी कार्यक्रममा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, शिक्षक, टोलविकास संस्थाका प्रतिनिधिहरुले सचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड लिएर तानसेन नगर परिक्रममा गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट निस्किएको र्‍याली तेस्रो सडक, पेट्रोलपम्प, टक्सारटोल, शितलपाटी, नारायणस्थान हुँदै टुँडिखेल पुगेर समापन भएको थियो । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पाल्पामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । ‘लागु औषध दुरुपयोग विरुद्ध लडौं : रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ जिल्ला सुरक्षा समिति र जिल्ला प्रहरी कार्यालय पाल्पाको संयुक्त आयोजनामा बुधबार र्‍याली तथा प्रभातभेरी कार्यक्रम गरी मनाइएको हो । समितिले विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी साताव्यापी कार्यक्रम गरेको छ । प्रभातभेरी कार्यक्रम समापनको जिल्ला प्रहरी कार्यालयका मोहन खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update