नेपालमा हरेक वर्षको १५ असारमा रोपाइँ गरिरहेको खेतको आलीमा बसेर दही चिउरा खाँदै धान दिवस मनाइन्छ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आएको हो ।
आज पनि देशभर चिउरा खाँदै धान रापेर धान दिवस मनाउन लागिएको छ । अन्यथा केही नभए, आज ‘राष्ट्रिय धान दिवस’ भन्दै देशभर उच्चपदस्थ अधिकारीहरूले समेत तामझामका साथ हिलोमा पस्ने र धान रोप्ने काम गर्ने छन् । तर धान दिवसका दिन मात्र धान रोपे झै गर्नुले कति सार्थकता प्राप्त गर्यो भन्ने विषयमा खासै छलफल र वहस हुुँदैन । कृषिप्रधान मुलुकमा धानकै नाममा एक दिन विशेष उत्सव मनाउनुको आफ्नै अर्थ छ। तर धानसँग अन्तरसम्बन्धित वर्षौंदेखिका मुद्दालाई सम्बोधन गर्ने दिशामा भने कुनै पनि कदम नचाली खालि तामझामका साथ दिवस मात्रै मनाउनुको चाहिँ कुनै अर्थ छैन । त्यसैले, परिणाम दिने कार्यमै सम्बद्ध पक्षको थप मिहिनेत आवश्यक छ । खासगरी धान उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापनका लागि मलबिउ अभाव र सिँचाइ असुविधा जस्ता कृषि कर्मका समस्याहरू सामाधान गर्नुपर्छ । यसो गर्न सकियो भने मात्र वास्तविक किसानले दिवसको महत्व बुुझ्न सक्छन् । अन्यथा दिवस केवल मनोरञ्जनका लागि मात्र हुनेछ । वर्षभरी खेत नटेक्ने तर दिवसको बेला के के नै काम गरे जसरी हिलाम्य हुने प्रवृत्तिको अत्यन्त गर्नुपर्छ ।
नेपालीको प्रमुख खाद्यान्न बाली धान खेतीलाई पर्वको रूपमा मनाउँदै जीवन्तता दिने गरिए पनि व्यवहारमा भने किसानका समस्या कम पीडादायी छैनन् । मनसुन सुरु भइसक्दा पनि धानखेतमा प्रयोग गरिने रासायनिक मलको सधैं अभाव रहने गर्दछ । खेती गर्नुपूर्व सक्कली धानको बीउ नपाइनु, खेतीका लागि आवश्यक आर्थिक परिचालन गर्न पुग्ने सहुलियत कृषि ऋणको अभाव हुनु, चर्को मिटर ब्याजको फन्दामा पर्नु, जनशक्ति अभावका कारण समयमै खेती गर्न नसक्नुजस्ता समस्या किसानमाथि आइपर्दछन् । बाहिर हेर्दा धान खेती र धान दिवसको जुन रोमाञ्चकारी सकारात्मक स्वरूप देखापर्दछ, भित्रभित्र भने किसान निकै मारमा परिरहेका हुन्छन् । किसानका यी दुःख र पीरमर्कालाई सरकारले यथासमयमा सम्बोधन गर्न सके मात्र धान दिवसको सार्थकता रहनेछ ।