सीमा भट्टराई
पाल्पा, आज असारे पन्ध्र । यस दिन धान रोपाई गरी दही र चिउरा खाने चलन छ । सरकारले यस दिन धान दिवससमेत मनाउँदै आएको छ । विक्रम संम्वत २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालमा विक्रम संवत् २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको विज्ञहरुको भनाई छ ।
नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको छ । असार महिना किसानका लागि ‘मानो छरेर मुरी उब्जाउने’ समय भनेर चिनिन्छ । नेपालको मुख्य खाद्यान्न बाली धान हो । यसको रोपाई पनि यही महिनामा हुने भएकाले यतिबेला किसानको दैनिक फेरिएको छ । उनीहरु बिहानदेखि साँझसम्म खेतमै व्यस्त देखिन्छन् । असार लागेसँगै पाल्पाका फाँटहरुमा रोपाइँ भइरहेको छ । यतिबेला यहाँका किसानलाई रोपाइँको चटारो थपिएको छ । पछिल्लो समय पाल्पासहित देशभरका स्थानमा असार पन्ध्रधुमधामका साथ मनाउने गरिन्छ । विभिन्न संघ संस्थाले असार पन्ध्रको अवसर पारेर आज धान रोपाई र दही चिउरा खाने कार्यक्रमको आयोजना गरेका छन् । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन् । दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
नेपालले दुई दशक पहिलेदेखि राष्ट्रिय धान दिवस माउँदै आएको छ । नेपालको प्रमुख बाली धान भएकाले धान दिवस राष्ट्रियस्तरमै मनाउँदै आएको हो तर यसका साथै मकै, गहुँ, कोदो, फापर, जौ, आलु आदि प्रमुख बालीकै रूपमा छन् । यिनलाई पनि प्रोत्साहन गर्नु राष्ट्रको दायित्व हो । यसतर्फ सरकारले उचित दृष्टिकोण दिई नेपाललाई सही अर्थमा कृषिप्रधान देशका रूपमा स्थापित गर्नुपर्ने आवश्यक छ । केही वर्ष अघिसम्म पाल्पा र गुल्मी र पाल्पाका फाँटहरुमा वर्षायाम सुरु भएसंगै हलो, जुवा, हलगोरु, बाउसे र रोपाहारहरु खेतमा हुँदा रोपाइँको चहलपहल रहे पनि अहिले यो विस्तारै हराउँदै गएको छ । बढ्दो आधुनिकीकरण र युवा पुस्ता विदेश पलायन भएपछि खेतमा धान रोपाइँका लागि हलोजुवा, हल,गोरु र बाउसेको अभाव देखिएको किसानहरु बताउँछन् । छङ्छङ् बगेको वर्षे भेल, खोल्साखाल्सी सुसाएर निस्केको आवाज, छहरा पहराको हरियालीले रोपाँइको समय सम्झाउँछ । असारे भाका ठाउँ र समुदायअनुसार फरक फरक लयमा गाइने भए पनि सबै गीतले किसानको मर्म पोख्छ ।