Shittalpati
 पत्रकार महासंघ पाल्पामा प्रेस युनियनले लगायो ताला

पाल्पा, नेपाल पत्रकार महासंघको निर्वाचनको संघारमा नेपाल प्रेस युनियन पाल्पाले  तानसेनस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा ताला लगाएको छ । पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको विषयमा असमति जनाउँदै युनियनले महासंघको कार्यालयमा शनिबार ताला लगाएको हो ।

महासंघले सदस्यता वितरणमा अलोकतान्त्रिक निर्णय गरेको युनियनको आरोप छ । सदस्यताको सुरुआत र किनारा लगाउने वैधानिक विधि हुँदा हुँदै केन्द्रले एकपक्षीय ढंगबाट सदस्यता वितरण गर्दा क्रियाशील पत्रकारलाई अन्याय भएको भन्दै केन्द्रीय निर्देशन अनुसार नै महासंघमा ताला लगाइएको युनियनका अध्यक्ष मन गहिरेले बताईन् । उनले भनिन् ‘विधि र प्रकिया मिच्दै क्रियाशील पत्रकार हटाउनु र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको प्रति हाम्रो आपत्ति हो ।’ महासंघको सदस्यता विवाद वैधानिक संरचनाबाट टुंगो लगाएर मात्र निर्वाचनमा जानुपर्ने अध्यक्ष गहिरेको भनाई छ । युनियनका जिल्ला अध्यक्ष मन गहिरेसहित युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, युनियनका निवर्तमान जिल्ला अध्यक्ष भरत शर्मा, सल्लाहकारहरु  झपेन्द्र गहिरे, जगदीश भट्टराई, मुक्ति न्यौपाने, जिल्ला उपाध्यक्ष विष्णु खनाल, सचिव विष्णु घिमिरे, कोषाध्यक्ष दीपक भट्टराई, सहसचिव वविता विष्ट, सदस्य अनिल लिगल लगायतका युनियनमा आवद्ध पत्रकारहरु महासंघको कार्यालयमा पुगेर ताला लगाएका हुन् । 

अहिले पाल्पासहित देशभर महासंघको कार्यालयमा युनियनले ताला लगाएको छ । महासंघको निर्वाचन घोषणा गरेर प्रक्रिया सुरु भइसकेको छ । निर्वाचनका लागि महासंघ पाल्पाले निर्वाचन समिति समेत चयन गरेर प्रक्रिया अगाडि बढाएको छ । युनियनको आन्दोलनसँगै महासंघको निर्वाचन फेरि पनि प्रभावित हुने सम्भावना बढेको छ । महासंघले असार २२ गतेका लागि निर्वाचनको मिति तोकेको छ ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update