Shittalpati
प्रतिनिधिसभाबाट तीन विधेयक पारित

पाल्पा, प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गरेको हो ।

सभाको आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ बहुमतले पारित भएको छ । उक्त विधेयकमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्ना  चार सांसदले आर्थिक विधेयक, २०८१ माथि राखेका संशोधन संसद् सचिवालयले हराएको भन्दै आपत्ति जनाएको थियो । छलफलमा सांसदहरु प्रेम सुवाल, डा. प्रकाशशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए । त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले रखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

यस्तै  बैठकबाट भन्सार महसुल विधेयक, २०८१ पारित पनि पारित भएको छ । विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिएका थिए । बैठकले सांसद सुवालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । 

प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११ बजे बस्नेछ ।
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update