पाल्पा, छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला ।।
यी र यस्तै गीत असार/साउनमा खेतमा घन्किने गर्थे । रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिने यस्ता गीतका भाका हिजो आज भने विरलै सुुनिन्छन् । यति बेला पाल्पा र गुल्मीका केही फाँटहरुमा धान रोपाइँ भइरहेको छ तर असारमा गाईने ति मौलिक पुराना भाकाहरु भने खासै सुनिएनन् । असार १५ का दिन राष्ट्रिय धान दिवस मनाउन नेतादेखि कर्मचारीसम्म किसानसँगै खेतमा पुगे ।
सरकारी तथा गैरसरकारी संघ संस्थाले पनि रमाइलोका लागि खेतमा पुगेर रोपाइँ गरे । तर ति पुराना मौलिकतालाई भने उनीहरुले विर्सेको देखियो । पहिले पहिले धान रोप्दा गाइने असारे गीत रोपाइँमा दिनभर थाकेको बाउसे र रोपाराहरू एक–अर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू पनि लठ्ठ पर्ने गर्दथे । तर, ती दिनहरू अब इतिहास नै बनेको पुराना बूढापाकाहरु बताउँछन् ।
पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो, तर अहिले मध्य असार लागिसक्दा पनि असारे गीत नसुुनिएको पाल्पाको पूर्वखोला गाउँपालिका विरकोटका मानबहादुर सारु बताउँछन् । मानो खाएर मुरी उब्जाउने असार महिनामा पहिले जस्तो उल्लास आजकल पाइन छाडेको उनको भनाई छ । आजभोलि मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउन छाडेकाले भाकासमेत लोप भएको सारुले बताए । गाउँले झ्याउरे भाकामा असारे गीत गुन्गुनाउँदै किसानले हिलोमा काम गरिरहेको दृश्यले जो कोहीलाई पनि लोभ्याउने गर्दछ । ‘मज्जाले हिलोमा छुपुछुपु खेल्दै र धान रोप्दै अनि दही चिउरा खाँदै हामी असार पन्ध्रमा रमाइलो गथ्यौं’ माथागढी चिदीपानीकी निर्मला न्यौपाने भनिन् । उनले पुराना दिनहरु सम्झदै भनिन् ‘खेतको आलीमा सबैजना बस्थ्यौँ, घरबाट ल्याइएको दही र चिउरालाई नाग नागिनी र देवतालाई चढाएर खाने गरिन्थ्यो तर हिजो आज यो चलन हराउँदै गएको छ ।’ मौलिक पाका र चलनलाई अहिले जोगाई राख्न प्रयास थालेको न्यौपानेको भनाई छ । ‘धान रोपेर थकित भएपछि खेतको डिलमा बसी आलुको अचारसँगै दही चिउरा खाएर लय हालेर असारे गीत गाउँदाको रौनक कम्ती रमाइलो हुदैनथ्यो’ चिदीपानीकै तुलसा न्यौपानेले भनिन् । अहिले ति हराउँदै जाँदा चिन्ता लागेको उनले बताईन् । उनीहरुले भने जस्तै पछिल्लो समयमा असारे भाका लोप हुँदै गएका छन् । उहिलेका असारे भाका कमैले मात्र गाउँछन् । पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो ।
रोपाइँमा गाइने असारे भाकाको बेग्लै मिठास गुञ्जिन्थ्यो । तर समयक्रमसँगै रोपाइँ गीत हराएका छन् । रोपाहारका रूपमा लहरै खेत रोपिरहेका महिला, खेत जोत्ने हली, बाउसे र आली ताछ्ने युवाहरू सबै मिलेर असारे भाका गाउने चलन थियो । गीत गाउँदै, एकअर्कामा हिलो छ्याप्दै जुहारी खेल्दै गरिएको रोपाइँ निकै रमाइलो हुन्थ्यो । तर हिजो आज आधुनिकतासँगै असारे मौलिक गीतका ति भाकाहरु विस्तारै हराउँदै गएका छन् । असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन समेत गाउँघरमा विस्तारै हराउँदै छ ।