Shittalpati
पाल्पा महासंघमा पनि नेपाल प्रेस युनियनको धर्ना 

पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाले पनि नेपाल पत्रकार महासंघ पाल्पाको कार्यालयमा धर्ना दिएको छ ।  पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको विषयमा असमति जनाउँदै युनियनले केन्द्रीय कार्यसमितिको निर्णय अनुसार महासंघको कार्यालय म्यालधारामा सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएको हो । 

पत्रकार महासंघले सदस्यता शुद्धिकरणको नाममा विधि र प्रकिया मिच्दै क्रियाशील पत्रकार हटाउने र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन थालेपछि युनियनले शनिबार पत्रकार महासंघका देशैभरका कार्यालयमा तालाबन्दी गरेर आन्दोलनका कार्यक्रम सुरु गरेको थियो । युनियनमा आवद्ध पत्रकारहरुले पाल्पासहित केन्द्रीय कार्यालयदेखि प्रदेश समिति र सबै शाखा कार्यालयहरुमा सांकेतिक रुपमा आन्दोलन स्वरुप धर्ना दिएका छन् । 

पाल्पामा भएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले पत्रकार महासंघको गरिमा जोगाउन युनियनले देशैभर सांकेतिक रुपमा आन्दोलन गरेको बताए । उनले भने ‘ महासंघमा गएको हाम्रो नेतृत्व वर्गको कमीकमजोरी र असक्षमताका कारण पत्रकार महासंघको गरिमा माथि आँच आउने काम भएकाले हामी आन्दोलनमा उत्रिनु परेको हो ।’ प्रेस युनियनका क्रियाशिल पत्रकारहरुलाई हटाएर  अन्य संगठनमा गैर पत्रकारहरुलाई राखेर सदस्यता दिने प्रयास भएको छ त्यसको विरुद्ध युनियन सशक्त रुपमा लागेको केन्द्रीय उपाध्यक्ष अर्यालले बताए । ‘प्रेस युनियनका क्रियाशिल पत्रकारहरुलाई यो वा त्यो वाहानामा हटाउने र अन्य संगठनका साथीहरु राजनीतिक दलका केन्द्रीय, प्रदेश, जिल्ला, क्षेत्रिय समितिमा बसेकाहरुलाई केही नहुने ?’ उनले भने ‘युनियनका साथीहरुलाई सामान्य बहाना बनाएर निकाल्ने जुन प्रपञ्च रचिएको छ त्यसको युनियनले घोर विरोध गर्दछ ।’     

महासंघको विधान विपरित गैर पत्रकारलाई सदस्य दिएर महासंघमा भित्र्याउने जुन कार्य भइरहेको छ त्यो गलत भएको युनियन पाल्पाका निवर्तमान सभापति भरत शर्माले बताए । जबस सम्म  क्रियाशिल पत्रकारहरुलाई बाहिरै राखेर गैर पत्रकारहरुलाई महासंघमा भित्र्याइन्छ तबसम्म युनियनले सशक्त रुपमा आन्दोलन गर्ने शर्माले महासंघलाई चेतानावनी दिए ।  सदस्यताको सुरुआत र किनारा लगाउने वैधानिक विधि हुँदा हुँदै केन्द्रले एकपक्षीय ढंगबाट सदस्यता वितरण गर्दा क्रियाशील पत्रकारलाई अन्याय भएको उनले बताए ।

युनियनका जिल्ला उपाध्यक्ष रामचन्द्र रायमाझीले महासंघको  विधि र प्रकिया मिच्दै क्रियाशील पत्रकार हटाउनु र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको प्रति हाम्रो आपत्ति रहेको बताए । महासंघले जबसम्म युनियनमा आवद्ध केही क्रियाशिल पत्रकारलाई बाहिर राखेर अन्य संगठनका निष्क्रिय पत्रकारहरुलाई महासंघको सदस्यता दिन्छ तबसम्म हाम्रो संघर्ष जारी रहने उल्लेख गरे ।    

युनियनका जिल्ला उपाध्यक्ष विष्णु खनाल, सचिव विष्णु घिमिरे, सह सचिवहरु वविता विष्ट, सन्तोष गहतराज, सदस्यहरु सुमन कार्की, मिना कुमाल, रुपा थापा लगायतका युनियनमा आवद्ध पत्रकारहरु महासंघको कार्यालयमा पुगेर धर्ना बसेका हुन् । युनियनका उपाध्यक्ष रामचन्द्र रायमाझीको अध्यक्षता, सचिव विष्णु घिमिरेको सञ्चालनमा दुई घण्टे धर्ना कार्यक्रम सकिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update