Shittalpati
खेलकुद पत्रकार दिवसको सार्थकता

आज जुलाई २ अर्थात विश्व खेलकुद पत्रकार दिवस । खासमा समाजमा खेलकुद पत्रकारले खेल्ने महत्वपूर्ण भूमिकाको सम्मानका लागि विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । सन् १९९४ मा एआईपीएसले आफ्नो स्थापनाको वार्षिकोत्सव मनाउनको लागि विश्व खेलकुद पत्रकार दिवस सुरु गरेको हो । 

विश्व खेलकुद पत्रकार दिवसको उद्देश्य भनेको खेलकुद पत्रकारहरूको कामलाई प्रवद्र्धन गर्नु र उनीहरूले समाजमा खेल्ने महत्वपूर्ण भूमिकाको बारेमा जानकारी प्रदान गर्नु हो । खेलकुद पत्रकारहरूले खेलकुद घटनाहरूको बारेमा सही र छिटो जानकारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छन् । खेलकुद पत्रकारिता खेलकुदसँग सम्बन्धित समाचार रिपोर्टिङसँग सम्बन्धित पत्रकारिताको एउटा शाखा पनि हो । सबै खेल सम्बन्धित समाचार र घटनाहरू क्रमशः खेल पत्रकारहरुले कभर गरेको इतिहास छ । अहिले आएर डिजिटल युगमा खेलकुद पत्रकारिताको गति र माग निकै बढेको छ । यो सकारात्मक पक्ष हो । तर यस्ता प्रतिस्पर्धात्मक समाचारहरू कभर गर्न ठूलो सीप र विशेषज्ञता चाहिन्छ । त्यो भने छैन । दिवस खेलकुद पत्रकारहरुलाई सम्मान गर्न र उनीहरुको कडा परिश्रमको कदर गर्न पहल गर्नु हो । तर त्यो हुन सकिरहेको छैन । नेपालको आमपत्रकारितासँगै खेलकुद पत्रकारिताले जग हालेको अनुमान गर्न सकिन्छ ।

पत्रकारितामा छुट्टै विटको सुरुवात गर्ने हेतुले भन्दा पनि खेलकुदका गतिविधि भएपछि त्यसलाई सञ्चार माध्यममा समेट्ने गरी लेखिने गरिएका समाचार नै नेपालमा खेल पत्रकारिताको सुरुवाती चरण हुन् । तर हालसम्म खेलको जुन विकास हुनुपर्ने हो त्यसो हुन सकिरहेको छैन । खेलका गतिविधिले त्यति प्राथमिकता पाउन सकिरहेका छैन । खेल पत्रकारिताका लागि खेलका गतिविधि हुन आवश्यक छ । यसो भयो भने मात्र खेल पत्रकारिताले फड्को मार्न सक्छ अन्यथा यो क्षेत्र नै खुम्चिनुु पर्ने अवस्था आउन्छ । तसर्थ सरकारी तवरबाटै खेल क्षेत्रलाई प्राथमितामा राखेर त्यसका गतिविधिसँगै खेलको विकासमा लाग्न सके मात्र खेलकूद पत्रकारिताको विस्तार हुनुको साथै दिवसले सार्थकता पाउन्छ । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update