Shittalpati
बुटवलका १६ वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त घोषणा

बुटवल, बुटवल उपमहानगरपालिकाका  १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा भएका छन् । पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८० अनुसार ति वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा  गरिएको हो ।

घोषणा गरिएका १६ वटै वडालाई नगर प्रमुख खेलराज पाण्डेयले सोमबार एक कार्यक्रमका बिच घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । प्रमाणपत्र हस्तान्तरण गर्दै उनले आगामी वर्ष सबै वडाहरुलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त बनाउँदै नगरलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्ने  तयारी रहेको बताए । प्रमुख पाण्डेयले छिटै नै बुटवल १३ र १७ मा स्थापना भएका अस्पताल भवनहरुबाट जनरल अस्पताल र फिजियोथेरापी अस्पतालको सेवा शुरु गर्ने समेत उल्लेख गरे ।  स्वास्थ्य क्षेत्रमा बालमृत्युदर र मातृमृत्युदर रोक्दै पोषण कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको उनले बताए । कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई स्वास्थ्य क्षेत्रमा सबल बनाउनका लागि वडातहबाटै सेवा सुधार गरिरहेको बताइन् ।

वडा नम्बर १५ का अध्यक्ष तथा प्रवक्ता शिव राना र वडा नम्बर १२ का अध्यक्ष डिल्ली प्रसाद शर्माले सबै वडालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गर्ने गरी तयारी गरेको बताए । यस वर्ष बुटवलका वडा नं ६, १२ र १७ लाई प्राविधिक कारणले पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गर्न नसकिएपनि आगामी आर्थिक वर्षमा नगरलाई नै घोषणा गर्ने तयारीका साथ कार्यक्रम अगाडि बढाउने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update