Shittalpati
पाल्पासहित लुुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा

पाल्पा, पाल्पासहित लुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुलेटीनमार्फत लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी,कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, प्युठान, नवलपसारी पश्चिम, रोल्पा र रुकुमपूर्व बाढी पहिरोको उच्च जोखिममा रहेका बताएको हो ।

सोमबारदेखि विहीबारसम्म मनसुन थप सक्रिय रहने भएकाले यि क्षेत्रमा बाढी पहिरोको जोखि उच्च रहेको महाशाखाले आइतबार जारी गरेको बुुलेटीनमा उल्लेख छ । महाशाखाका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, र ओखलढुङ्गा, बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा तथा गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङजा, तनहुँ, नवलपरासीपूर्व र लमजुङ पनि बाढी पहिरोको उच्च जोखिममा छन् ।  यो वर्षको मनसुनमा मुलुकभरि नै सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएको छ । त्यसबाट मनसुनजन्य प्रकोप अत्यधिक हुनसक्ने भन्दै मौसम विभागले पूर्वतयारीका लागि सरोकारवालालाई सचेत गराएको छ ।

विभागले बुुलेटीन सार्वजनिक गर्दै देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएकाले सतर्क रहन आग्रह गरेको हो । उसले विशेषगरी उच्च जोखिममा रहेका क्षेत्रहरुमा विहीबारसम्म भूू–क्षय, पहिरो तथा गेग्रान, वहावको जोखिम रहेको, सहरी तथा तराइ क्षेत्रहरुमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सर्तकता तथा पूर्वतयारी अपनाउन सबैमा अनुुरोध समेत गरेको छ । मनसुन अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । सो अवधिमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानम तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय रहेको अवधिभर कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । हरेक वर्षायाममा मुलुकका धेरैजसो जिल्लामा बाढी र पहिरोले जनता आक्रान्त बन्ने गरेका छन् । तराईमा बाढी र डुबान, पहाड र हिमाली क्षेत्रमा पहिरो लगायतका जोखिमका कारण वर्षेनी ठूलो जनधनको नोक्सानी हुने गरेको छ । यस वर्ष पनि मनसुन सुरु भएसँगै ठाउँ–ठाउँमा बाढी र पहिरोको समस्या देखिन थालेको छ । मापदण्ड विपरित खनिएका सडकले घर, खेतबारी नै बगाएर बिस्थापित हुनुको साथै मानविय क्षतिका घटनाहरु सार्वजनिक भइरहेका छन् । वर्षेनी निम्तिने प्राकृतिक विपत्तिमा सरकारको बेलैमा ध्यान जान नसकेकोले जनधनको क्षति हुने गरेको छ । तर सरकारले भने सधैं आफ्ना सबै निकायहरु तयारीमै रहेका बताउने गरेको छ ।  


 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update