Shittalpati
किन खस्किँदैछ एसईई नतिजा ? के छन् सुधारका उपाय ?

गंगाबहादुर खत्री

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत बिहीबार प्रकाशन भएको छ । विगत ८ वर्षको अभ्यासलाई तोड्दै नयाँ ढंगबाट नतिजा प्रकाशन भएसँगै सो नतिजालाई लिएर विभिन्न खालका बहसहरू सुरु भएका छन् । अन्य दिनमा कानमा तेल राखेर बस्ने, नतिजा आएपछि विभिन्न होटल तथा चोकमा बसेर व्याख्या, विश्लेषण र चिन्तन मनन गर्ने नेपाली परम्परा पुरानै हो ।

यसपटक पनि सो परम्परा दोहोरिएको छ । एसईई परीक्षामा विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयबाट ४ लाख ६४ हजार ७ सय ८५ जना विद्यार्थी सामेल भएका थिए । यीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना विद्यार्थीे कक्षा ११ मा भर्ना हुन पाउनेगरी उत्तीर्ण भएका छन् । गणितका हिसाबले यो संख्या कुल परीक्षार्थीको ४७ दशमलव ८७ प्रतिशत हुन आउँछ । अर्थात्, यसपटकको एसईईमा ४७ दशमलव ८७ प्रतिशत मात्र विद्यार्थी पास भएका छन् भन्दा हुन्छ । बाँकी २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी अनुत्तीर्ण (फेल) भएका छन् । परीक्षा बोर्डको भाषामा यिनीहरूलाई ननग्रेडिङ अर्थात् कुनै पनि ग्रेड ल्याउन नसकेको भनिए तापनि अन्तत्वगत्वा यो संख्या फेल नै हो । गणितीय भाषामा भन्दा यो संख्या ५२ दशमलव १३ प्रतिशत हुन आउँछ । यो नतिजासँगै शिक्षा पद्धति वा प्रणालीमाथि आम मानिसहरुले प्रश्न गर्नुको साथै विभिन्न माध्यमबाट आक्रोस व्यक्त गरिरहेका छन् भने सरकारले तत्कालका लागि असफल सबै विद्यार्थीहरु मौका परीक्षामा सहभागी हुन सक्ने निर्णय गरेको छ । यसर्थ यहाँ एसईई नतिजाले उब्जाएका प्रश्न, शिक्षाको गुणस्तर, नतिजा कमजोर हुनुका कारणहरु र वर्तमान वहसका विषयमा केन्द्रीत रहेर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

किन खस्कियो  शिक्षाको गुणस्तर ?        

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेपछि शिक्षाको गुणस्तरमा प्रश्नहरु उठेका छन् । संसदमा समेत यसका विषयमा प्रश्नहरु उठे । यसरी प्रश्न उठ्दै गर्दा कतै देशको शिक्षा प्रणालीलाई दोष लगाइएको छ त कतै प्रत्यक्ष विद्यालयसँग सम्बन्धित व्यक्तिहरुलाई दोषि देखाइएको छ । पाठ्यक्रम, विद्यार्थीका आवश्यकता अर्थात् रुचि र मूल्याङ्कन प्रणाली बीचमा तालमेल नभएका कारण पनि यस्तो भएको हुन सक्ने विषय पनि प्राथमिकताका साथ उठिरहेको छ । यी र यस्ता बहसहरुले शिक्षा प्रणाली वा पद्धतिमा केहि त्रुटीहरु रहेको स्पष्ट हुन्छ । ढिलोचाडो यो विषयमाथि बहस चल्नुपर्ने थियो र सुरु भएको पनि छ । यसलाई सकारात्मक मान्नुपर्छ । विगतका वर्षको विद्यार्थी उतीर्ण दरको अध्ययनले यस वर्षको नतिजालाई कमजोर भनेर व्याख्या विश्लेण गर्नु भन्दा पनि पहिलेका नतिजाको तुलनामा सुधार हुन नसकेको भन्नु उपयुक्त हुन्छ । यससँग सम्बन्धित केहि सवालहरुको बारेमा अध्ययन गर्नु नै आजको आवश्यकता हो । विद्यालयको अवस्था, विद्यार्थीहरुको आवश्यकता, रुची र तत्परता, अभिभावकहरुको लगानी अर्थात् सक्रियता, शिक्षकहरुको लगाव, पाठ्यक्रम, पाठ्यांश, मूल्याङ्कन प्रणाली, मूल्याङ्कनमा सहभागीहरुको ल्याकत र इमान्दारी, मूल्याङ्कन पद्धति, अभिभावकको सामाजिक आर्थिक अवस्था, राजनैतिक विचलन र सामाजिक परिवेश जस्ता विषयवस्तुहरुको बारेमा विश्लेषण गर्नुपर्ने हुन्छ । शिक्षाका धरोहर वा शिक्षा परिमार्जनका जिम्मेवार व्यक्तिहरुले शिक्षामा सुधारका नाममा गर्ने अनेक प्रकारका निर्णयहरुले पनि शिक्षाको गुणस्तरमा प्रभाव पारिरहेको छ । देशको आवश्यकता र परिस्थितिलाई नजरअन्दाज गरी विश्वका अन्य देश वा राज्यहरुको शिक्षालाई टपक्क टिपेर लागु गर्नु नै गलत प्रवृति हो । यस्तै प्रवृतिका कारण देशको शिक्षाको गुणस्तर खस्किएको हो ।

यस्ता छन् नतिजा कमजोरका कारक 

नेपाल सरकारले शिक्षालाई व्यवहारिक बनाउने उद्देश्यले नेपाल सरकारले पछिल्लो पाठ्यक्रममा कक्षा ४ बाट नै प्रत्येक विषयहरुमा प्रयोगात्मक भाग समावेश गरेको छ तर विद्यालयहरुमा शिक्षक विद्यार्थीबाट यसको अभ्यासलाई कम प्राथमिकता दिई रहेका छन् । सरकारबाट सहजीकरणको अभाव देखिएको छ । प्रयोगात्मक अंक शिक्षकको खल्तीको अंकको रुपमा प्रदान गरिदै आएको छ । विद्यार्थीलाई गरेर सिक्ने अवसर भन्दा पनि पढेर मात्रै सिक्ने अवसर प्रदान गरिएको छ । यो दीर्घकालीन वा व्यवहारिक शिक्षा हुन सक्दैन । त्यस्तै विषयगत प्रत्यक्षीकरणको अभ्यासमा कमी छ अर्कोतर्फ प्रयोगात्मक शिक्षालाई जोडेता पनि सैद्धान्तिक विषयवस्तु संक्षेपिकरण गरेको छैन् । मूल्याङ्कनमा अनुसन्धान, परियोजना कार्य जस्ता सिकाइ क्रियाकलापलाई जोड्न सकिएको छैन् । पाठ्यक्रममा आधारित सिकाइ, आन्तरिक तथा बाह्य मूल्याङ्कन, सिकाइका विधिलाई विद्यालयसँग जोड्न सकिएको छैन् भने अर्कोतर्फ शिक्षा क्षेत्रमा लागु गरिने योजना या प्रणालीहरुकोे दिर्घकालीन प्रभाव वा असरको अध्ययन तथा समिक्षाविना नै कार्यान्वयन गरी शिक्षा जस्ता गम्भीर क्षेत्रमा पटक पटक विद्यार्थीहरुलाई प्रयोगशालाका साधन जस्तै प्रयोग मात्रै गरिएको छ । देश, काल र परिस्थिति सुहाउँदो शिक्षा प्रणालीको विकास र परिमार्जनविना नै विदेशी पाठ्यक्रम र मूल्याङ्कन पद्धति अवलम्बन गरिनु नै यो नतिजाको कारक हो । अन्य देशको देखासिकीले दीर्घकालीन प्रतिकार्यमा प्रभाव पारेको छ । पाठ्यक्रमं विद्यार्थीहरूको आवश्यकतासँग सान्दर्भिक वा आवश्यकता अनुसारको नहुनु र वर्तमान मूल्याङ्कन विधिहरूले विद्यार्थीको सिकाइलाई प्रभावकारी रूपमा मापन गर्न नसक्नु पनि कारणहरु हुन । पाठ्यक्रमा रहेका विभिन्न क्षेत्र तथा क्रमलाई कक्षाकोठा भित्र विद्यार्थी क्षमता अनुरुप पस्कन नसक्नु पनि कारक विषयहरु हुन् । शिक्षकको व्यवस्थापन तथा परिचालनमा पनि समन्वयकारी भूमिका रहेका तहहरुको कार्य सम्पादनमा कमी कमजोरी हुनाले शिक्षाको गुणस्तरमा असर परेको हो ।

मुलुकका विद्यालयहरुमा विषय गत शिक्षकको अभाव छ । समन्वयकारी तहहरुले शैक्षिक गुणस्तरमा भन्दा भौतिक विकासमा बढी ध्यान दिएका छन् । विद्यालयभित्र अति राजनीति छ । विद्यालय व्यवस्थापन समिति छनोट वा शिक्षक सरुवामा गा.पा वा न.पा भित्रका विद्यालयको आधारमा दलगत राजनैतिक भागबण्डा गरिन्छ । राजनैतिक भागबण्डामा परेका विद्यालय व्यवस्थापन समिति अर्थात् शिक्षकले विद्यालयको शैक्षिक उपलब्धीमा सुधार गर्छन् त ? शिक्षकहरुलाई स्वतन्त्र रुपमा कार्य सम्पादन गर्न दिन्छ त ? पक्कै पनि दिदैन । अनि विद्यालयको शैक्षिक उपलब्धीको बारेमा नतिजा प्रकाशनको दिन चिन्ता व्यक्त गरेर हुन्छ ? बाँकी ३६४ दिन विद्यालय सुधारमा को को चिन्तित छन् त ? त्यस्तै गतिविधिका कारण आएको परिणाम नै अहिलेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा हो । यसको जिम्मेवारी राज्यको शिक्षा नीति, पद्धति र विद्यालय तहसँग जोडिएका हरेक तह, तप्का र व्यक्तिहरूले लिनुपर्ने हो तर यसो भएको पाइदैन । एकले अर्काेलाई दोषी सावित गर्न आतुर रहेको पाइन्छ । हाम्रो समाजमा जबसम्म बजेट दिनेले दिएको, विद्यालय हेर्नेले हेर्दिएको, पढाउनेले पढाइदिएको, पढ्नेले पढिदिएको, पठाउनेले विद्यालय पठाईदिएको, विज्ञहरूले नीति तथा कार्यक्रम बनाईदिएको, अनुगमन तथा नियमनकर्ता गरिदिएको जस्ता प्रचलन नहटे सम्म नतिजा सुधार हुँदैन । सबै गरिदिने छन् गर्ने कोहि छैन्, अनि नतिजाको दिन मात्रै चिन्ता सबैमा अनि सुधार सम्भव छ त ?

अहिलेका केहि विद्यार्थीहरुमा आक्रोश, वितृष्णा, नकारात्मक इगो, सहनशीलताको कमी ,अभिभावकप्रतिको विश्वास कम मात्रमा पाइन्छ भने  वर्तमान प्रविधिको विकासका कारण विद्यार्थीले पुस्तक अध्ययन वा गृहकार्यका लागि समय व्यवस्थापन गर्न सकिरहेका छैन् । फलत: उनीहरुले चाहे जस्तो नतिजा प्राप्त गर्न सकेका छैन् । अभिभावहरुले पनि विद्यार्थीमाथि प्रत्यक्ष निगरानी राख्न सकिरहेका छैनन् । अभिभावकमा पनि छोराछोरीले तत्कालै कुनै नकरात्मक व्यवहार देखाउने डरका कारण पढाइ वा सिकाइप्रति दबाव दिन सकिरहेका छैन् । यस्ता कारणले शिक्षाको गुणस्तरमा ह्रास उत्पन्न भइरहेको छ ।  

विद्यालयहरुमा भौतिक संरचनामा मात्रै लगानी भएको छ भने शिक्षणसिकाई क्रियाकलापहरुमा लगानीको अभाव रहेको छ । विद्यालयमा विद्यार्थीका लागि उपयुक्त सन्र्दभ सामग्रीहरु पुगेका छैनन् । सन्दर्भ सामग्री खरिद तथा व्यवस्थापनमा प्रक्रियामा नै अनिमियता भएको पाइन्छ । कतै नविकेका किताबहरु विद्यालयको पुस्ताकालयमा पुग्ने गरेका छन् । जुन सामाग्रीहरु विद्यार्थीको प्रयोगका लागि उपयुक्त छैन र त्यसबाट विद्यार्थीको सिकाई प्रक्रियामा कुनै पनि किसिमको प्रभाव पार्दैनन् । यदि कतै व्यवस्थित छन् भने पनि प्रयोगहिन हुनुले पनि मैले सिक्नुपर्छे भावनामा विद्यार्थीमा जगाउन सक्दैनन् । समय समयमा परिर्वन हुने सरकार र सरकारी निर्णयहरु पनि नतिजा कमजोर हुनुका कारणहरु हुन् । राजनीतिक अस्थिरता र सरकार परिवर्तनले शिक्षा नीति र कोषमा बाधा पुर्‍याएको छ, जसले शैक्षिक कार्यक्रमहरूको स्थिरता र निरन्तरतालाई असर गरिरहेको छ ।

एसईईको नतिजा कमजोर हुनुका पछाडी धेरै कारणहरु रहेका छन् । धेरै विद्यालयहरूमा कक्षाकोठा, पुस्तकालय र प्रयोगशालाहरू सहित पर्याप्त पूर्वाधारको अभाव छ । पुस्तक, कम्प्युटर र अन्य सिकाइ सामग्रीमा सीमित पहुँचले पनि शिक्षाको गुणस्तरमा बाधा पुर्‍याउँछ । विशेषगरी ग्रामीण क्षेत्रमा दक्ष शिक्षकको अभाव छ । थप रूपमा, शिक्षणको गुणस्तर व्यापक रूपमा भिन्न हुन सक्छ, जसले विद्यार्थीको सिकाइ परिणामहरूलाई असर गर्छ । अर्काेतर्फ शिक्षकहरुको सरुवामा हुने राजनैतिक तिक्डमहरुले पनि शिक्षकलाई एकाग्र भएर शिक्षण क्रियाकलापमा लाग्न दिएको छैन् । विद्यार्थी, अभिवकहरुले आर्थिक चुनौतिहरूको सामना गर्नुपरेको छ ।  धेरै परिवारहरूले स्कूल शुल्क, पोशाक र आपूर्तिहरू वहन गर्न संघर्ष गरिरहेका छन् । यसले उच्च विद्यालय छोड्ने दर र शिक्षामा सीमित पहुँच निम्त्याउने मात्रै होइन नतिजामा समेत प्रत्यक्ष असर पार्ने गर्दछ । नेपालमा विविध जातीय र भाषिक समुदायहरू छन् । शिक्षामा धेरै भाषाहरूको प्रयोगले बाधाहरू सिर्जना गर्न सक्छ, विशेष गरी क्षेत्रहरूमा जहाँ शिक्षाको माध्यम विद्यार्थीहरूको मातृभाषाहरू भन्दा फरक छ । शिक्षकहरु पनि विभिन्न भाषि रहेका छन् जसले गर्दा विद्यार्थीहरुले शिक्षकले सिकाउन खोजेको विषयवस्तुलाई बुझ्न कठिन भएको पाईन्छ । नेपालको दुर्गम भू–भाग र दुर्गम समुदायहरूले देश भरमा निरन्तर शैक्षिक सेवाहरू प्रदान गर्न गाह्रो बनाएको छ । यातायात जस्ता पूर्वाधार चुनौतिहरूले पनि विद्यालयको पहुँचमा बाधा पुर्‍याएको छ भने त्यस्ता स्थानहरुमा शिक्षकहरुको निरन्तरता कम मात्रमा हुने गरेको पाईन्छ । यसको अलवा शिक्षामा लैङ्गिक अन्तरहरू रहेका छन्, विशेष गरी ग्रामीण क्षेत्रहरूमा जहाँ सांस्कृतिक मापदण्डहरूले केटाहरूको शिक्षालाई केटीहरूको शिक्षालाई प्राथमिकता दिन सक्छ । यसले केटीहरु शैक्षिक क्षेत्रमा प्रत्यक्ष सहभागी भएर सिकाई गर्ने अवस्था कम छ । यी समस्याहरूलाई सम्बोधन गर्न पूर्वाधार सुधार गर्न, शिक्षकहरूलाई तालिम दिन, समान पहुँच सुनिश्चित गर्न र सान्दर्भिक र प्रभावकारी शैक्षिक नीतिहरू निर्माण गर्न सरकार, समुदाय र अन्तर्राष्ट्रिय संस्थाहरूबाट ठोस प्रयास आवश्यकता छ । जे जस्ता टिकाटिपणी गरिएता पनि समग्रमा यो नतिजाले विद्यार्थी शिक्षक र अभिभावकमा भएको भ्रमलाई चिर्दै शिक्षामा नविन आयामको सुरुवात गरेको पाइन्छ । नपढे पनि पास भइन्छ भन्ने भ्रमलाई तोडेको छ । यो कदमले विद्यार्थीमा पठन संस्कृतिको विकास हुनुको साथै शिक्षक अभिभावकहरुलाई थप जिम्मेवारी बनाएको छ ।

 (लेखक पाल्पा प्यारागन बोर्डिङ्ग स्कूलका प्रिन्सिपल समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update