Shittalpati
मनसुनजन्य जोखिम : सतर्कता र पूर्वतयारी

सोमबारदेखि बिहीबारसम्म मनसुन थप सक्रिय रहेकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ । मनसुनजन्य विपद्का कारण पाल्पासहित लुम्बिनीका ९ जिल्ला गुल्मी, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, प्युठान, नवलपसारी पश्चिम, रोल्पा, रुकुमपूर्व, कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, र ओखलढुङ्गा, बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा तथा गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङजा, तनहुँ, नवलपरासीपूर्व र लमजुङ बाढी पहिरोको उच्च जोखिममा रहेका बताइएको छ । यो वर्षको मनसुनमा मुलुकभरि नै सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएकाले पनि यी क्षेत्रमा अलि बढी सर्तक रहनुपर्ने भएको छ ।

विशेषगरी उच्च जोखिममा रहेका क्षेत्रहरुमा विहीबारसम्म भू–क्षय, पहिरो तथा गेग्रान, वहावको जोखिम रहेको, सहरी तथा तराइ क्षेत्रहरुमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सर्तकता तथा पूर्वतयारी अपनाउनु पर्ने छ । एकाएक आइपर्ने प्राकृतिक विपत्तिलाई टारौँ भनेर टार्न सकिन्न तर बेलैमा सावधानी अपनाइयो भने क्षति न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । विपत् जुनसुकै बेला पनि आउन सक्ने आकलनसहित योजनाबद्ध रूपमा सधैँ तम्तयार रहन आवश्यक देखिन्छ । मौसमजन्य विपत् न्यूनीकरण तथा उद्धारमा तत् तत् क्षेत्रका विज्ञ सम्मिलित कार्यदल परिचालन गर्नेतर्फ ढिलाइ गर्न नहुने विगतका घटनाले देखाएका छन् ।

सरकारले मनसुनी विपत् जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यमा राष्ट्रियस्तरदेखि स्थानीय तहसम्म कार्य गर्ने सरकारी तथा गैरसरकारी संघ संस्थालाई समन्वयात्मक ढङ्गले परिचालन गर्न आवश्यक छ । देशव्यापी रूपमा हुने मनसुनी प्रभावको क्षति रोकथाम गर्ने,न्यूनीकरण गर्ने तथा योजनावद्ध ढङ्गले प्रतिकार्यमा जुट्नु अहिलेको आवश्यकता हो । विगतमा देखिएका विपत् आइपरेपछि मात्र चासो देखाउने तर बेलैमा सचेतना, सावधानी तथा सुरक्षाका उपाय अवलम्बन नगरिने प्रवृत्ति अन्त्य गरी जनधनको क्षति हुनबाट जोगाउन सबै पक्षले सतर्कता र पूर्व तयारी अपनाउन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update