Shittalpati
महिलालाई जुत्ता, चप्पल बनाउने तालिम

बुटवल, बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई जुत्ता, चप्पल बनाउने तालिम दिएको छ । उपमहानगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले १० दिने जुत्ता बनाउने तालिम दिएको हो ।

सीप विकासमार्फत विपन्न समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।  तालिममा सहभागी महिलाहरुले उत्साहका साथ तालिम लिएका छन् । तालिम पश्चात उनीहरुलाई प्रमाण–पत्र समेत प्रदान गरिएको छ । तालिम लिएका महिला उद्यमीलाई एक कार्यक्रमकाबीच नगर प्रमुख खेलराज पाण्डेयले प्रमाण–पत्र हस्तान्तरण गरका हुन् । प्रमाणपत्र प्रदान गर्दै उनले बुटवलमा सीप र रोजगारलाई प्राथमिकता दिदै दक्ष जनशक्ति र उद्यमी उत्पादन गर्ने बताए । उनले महिला र युवाहरुलाई सीपसँग जोड्दै क्षमता विकास गर्ने र उत्पादन गरेका वस्तुहरु बजारसम्म पुर्‍याउनका लागि सहजीकरण गर्ने उल्लेख  गरे । नगर प्रमुख पाण्डेयले गृहणी महिला स्वरोजगार कार्यक्रम अन्तर्गत तालिम दिएका महिलाहरुले उत्पादन गरेका सामग्रीहरुलाई कोशेली घरका रुपमा स्थापना गरी बजारसम्म पुर्‍याउन नगरले अगुवाई गर्ने बताए । उनले कोशेली घरमा बुटवलले दिने सबै तालिमहरुबाट उत्पादन भएका उद्यमी तथा स्वरोजगारहरुलाई प्रवद्र्धन गर्ने गरी व्यवस्थापन गर्ने बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरुको क्षमता विकासमा बुटवलले विशेष जोड दिएको बताइन् । कार्यक्रममा सिटिजन बैंकका प्रदेश प्रमुख प्रयास अर्याल, उद्योग वाणिज्य संघका मदनकुमार कार्की, शाखा प्रमुख गुनाकर खनाललगायतले बुटवललाई उद्यमका क्षेत्रमा अगाडि बढाउन सामुहिक प्रयास जरुरी रहेको बताए ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update