Shittalpati
सहमति देश र जनताको लागि हो भने स्वागतयोग्य छ, पद र सत्ताका लागि भने प्रतित्पादक हुनेछ’

पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेस र एमालेबिच भएको सहमति देश र जनताको लागि भएको हो भने स्वागतयोग्य भएको बताएका छन् । नेपाली काँग्रेस रामपुरले नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोईरालाको १०१ औं जन्मजयन्तीको अवसरमा रामपुरमा आयोजना गरेको घुम्ती बैठकलाई सम्बाधेन गर्दै उनले राष्ट्रिय सहमतिका विषयमा भएको सहमति फगत सत्ता परिवर्तनका लागि बनाइएको बहानाबाजी मात्र होइन भने स्वागतयोग्य  भएको बताएका हुन् ।

सभापति श्रेष्ठले भने ‘सरकार परिवर्तन देश र जनताको हितको लागि शासकीय सुधार र संविधान संशोधनका लागि हो भने उचित कदम हो, पद र सत्ताका लागि हो भने त्यो प्रतित्पादक हुनेछ ।’ नेपाली काँग्रेसले आमजनताको चासोलाई केन्द्रमा राखेर एमालेसँग सहमति गरेको उनको बुुझाई छ । सभापति श्रेष्ठले जनताले सरोकार राखेको राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार्न र सुशासन जस्ता विषयलाई आधार बनाएर काँग्रेसले एमालेसँग सहमति गरेको बताए । उनले भने ‘संविधान बनाएपछि अहिलेसम्मको अनुभवबाट संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति बनाउनुु अहिलेको आवश्यकता हो ,त्यसलाई काँग्रेसले आत्मसाथ गरेको हामीले बुुझेका छौं ।’  सभापति श्रेष्ठले कांग्रेसले सरकार बनाउने विषयमा मात्र नभएर राजनीतिक स्थायित्वका लागि सहमति गरेको दाबी गरे । उनले मुलुकमा संघीय गणतन्त्र स्थापना हुनुमा पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण रहेको स्मरण समेत गरे । सभापति श्रेष्ठले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संघीयता स्थापना गर्नमा कोइरालाको ठूलो योगदान रहेको बताए । उनले भने, ‘स्व कोइरालाले लोकतन्त्र स्थापनामा गर्नुभएको योगदानलाई नेपाली जनताले कहिले बिर्सन सक्दैनन् ।’

बैंठकमा नेपाली काँंग्रेस लुम्बिनी प्रदेशका सदस्य कृष्ण प्रसाद अधिकारी, विष्णु मायाँ ढकाल, काँग्रेस महासमिति सदस्य एवं रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, नेपाली काँग्रेस पाल्पाका पूर्व सचिव माधव नेपाल लगायतले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा पार्टीका क्रियाशिल सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो । बैठकको अवसरमा नेपाली काँग्रेस रामपुर नगर कार्यसमितिले विपि कोईराला स्मृति अक्षयकोष घोषणा गरेको छ । कोषको लागि जिल्ला सभापति हिमालदत्त श्रेष्ठले ११ हजार १ सय ११ घोषणा  गरेका छन् । नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षता, रामपुर –६ का वडा सभापति गोविन्द प्रसाद देवकोटाको स्वागत र नगर सचिव चिरञ्जीवि सिग्देलको सञ्चालनमा बैंठक भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update