Shittalpati
जनअपेक्षा पूरा गर्ने अवसरबाट नचुकून

प्रतिनिधिसभाका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले सत्ता सहयात्राको सहमति गरेका छन् । मध्यरातमा प्रमुख दुई दलबीचमा सरकार फेरबदल र संविधान संशोधनसहितका एजेण्डामा सहमति भएसँगै नेपाली राजनीति तरंगित बनेको छ । सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् । दुई दलबीच भएको भनिएको सहमतिमा संघदेखि प्रदेशसम्म सत्ता बाँडफाँटदेखि संविधान संशोधनको विषयसम्म समेटिएको विवरणहरू सार्वजनिक भएका छन् । यद्यपि नेपालको राजनीतिक इतिहासमा भने यो कुनै नौलो र आश्चर्यजनक विषय होइन । तर सांसदको संख्याले बलिया दलको गठजोडको सत्तामा साना दलको लुछाचुँडीलाई अन्त्य गरेको छ । छिनमै गठबन्धन फेरिने क्रममा ब्रेक लागेको छ। यसलाई सकारात्मक रुपमा लिनुुपर्छ ।

कुनै पनि दलले बहुमत ल्याउन नसक्नु र मिलिजुली सरकार बनाएर अघि बढ्नुपर्ने बाध्यताले नेपाली राजनीति गुज्रँदै आएको छ । प्रचण्डले सत्ता भत्काउने र बनाउने खेलमा लाग्दा राजनीतिक अस्थिरता उत्पन्न भए पनि जनताले काँग्रेस र एमालेलाई मिलेर सरकार बनाउन आग्रह गरेका थिए । ठूला दल काँग्रेस र एमाले एउटै गठबन्धनमा नआउँदासम्म अस्थिरता कायम हुने मात्रै होइन, एक÷ दुुई स्वतन्त्र सांसदले समेत सरकार गिराउन सक्ने अवस्था रह्यो । त्यसो हुँदा प्रधानमन्त्री, मुख्यमन्त्रीहरूको मुख्य ध्यान नै सरकार टिकाउनेमै केन्द्रित भयो । अहिले बनेको काँंग्रेस र एमाले गठबन्धनले एकाध सिटको बार्केनिङलाई समाप्त गरेको छ । जुन हुनुपथ्र्यो नै । दुुई दलको सहमति एक अर्थमा राजनीति स्थिरता तर्फ मोडिएको संकेत हो । अहिले देश अत्यन्त जटिल अवस्थाबाट गुुज्रिरहेको छ । हरेक क्षेत्रहरुमा बढ्दो निराशा व्याप्त छ । एक पछि अर्को भ्रष्टाचारका काण्डहरुले देशको भविष्यलाई असुरक्षित बनाइरहेका छन् । देशमा रोजगारी उपलब्ध नहुनाले दैनिक हजारौँ नेपालीहरु विदेशमा काम खोज्दै भौँतारिनुपर्ने बाध्यता छ ।

जनतामा सुशासनको प्रत्याभूति हुन सकेको छैन । यो अवस्थामा वर्तमान सरकारको विकल्पको खोजी हुनु अस्वाभाविक छैन । हालको अस्थिर राजनीतिलाई तत्कालै किनारा लगाउनका लागि पनि नेपाली काँग्रेस र एमालेको सहकार्यलाई राम्रै मान्नु पर्छ । यसर्थ यो गठबन्धनले जनचाहना अनुरूप लामो समय काम गर्न सकोस् । यो अवसरबाट नयाँ गठबन्धन जनअपेक्षा पूरा गर्नबाट नचुकोस् ।  

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update