Shittalpati
गुल्मीमा पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई राहत

गुल्मी, पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराईको छ ।  गत शुक्रबार राति मालिका गाउँपालिका–६ अर्जेमा गएको पहिरोमा पुरिएर ज्यान गुमाएको परिवारलाई प्रदेश र संघीय सरकारले ११ लाख रुपैयाँ राहत उपलब्ध गराएको हो ।

दुबै सरकारको तर्फबाट प्राप्त सो राहत रकम जिल्ला प्रशासन कार्यालयले उक्त परिवारलाई उपलब्ध गराएको छ । अर्जेस्थित कडेलपाटामा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो । संघीय सरकारको तर्फबाट प्रतिव्यक्ति १/१ लाख र एकै परिवारका ५ सदस्यको मृत्यु भएकोले थप १ लाख तथा प्रदेश सरकारका तर्फबाट प्रतिव्यक्ति १/१ लाख राहत हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय भेषबहादुर विकको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको थियो । विकको ढङ्गा माटोको २ तले टिनले छाएको घरमा एक्कासी माथिबाट ढङ्गा ,माटो सहितको पहिरो खसी घर पुरिन जाँदा घरमा रहेका भेषबहादुर सहित ५ जनाको ज्यान गएको हो । 

पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सिता विक, नातिनिहरु ८ वर्षीया  सपना विक र ८ महिनाकी बिपना विकको मृत्यु भएको थियो । घरमा बसेका सबै सदस्यको मृत्यु भएपछि उनका तीनभाई छोराहरु अहिले जेठो बुवाको घरमा बसेर किरिया बसेका छन् । उनीहरु भारतमा रोजगारीमा रहेकाले बच्न सफल भए ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update