काठमाडौं, नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी १० औं महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन् ।
पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएको समाजवादीले जनाएको छ । यस अघि खानाल सम्मानित नेता र भूूसाल महासचिव नै थिए । उनीहरु पनि दोहोरिएका हुुन् । पार्टीको अध्यक्षका लागि नेपाल र भुसाल दुवैले दाबी गर्दै आएका थिए । तर अन्तिम समयमा सर्वसम्मतरुपमा नेतृत्व चयन गर्नु उपयुक्त हुने भन्दै उम्मेदवारको मनोनयन दर्ता रोकिएको थियो । अन्ततः महाधिवेशनले अध्यक्षमा पुनः नेपाल र महासचिवमा पुनः भुसाललाई नै निर्वाचित गरेको हो
बाँकी रहेका पदमा शुक्रबार विहानसम्म टुंगो लगाइने बताइएको छ । असार १६ गतेदेखि पार्टीको महाधिवेशन सुुरु भएको थियो । ५ दिन चलेको महाधिवेशनले मुख्य तीन पदको छिनोफानो गरे पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्य छान्न भने सकेको छैन ।सहमतिकै आधारमा पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्नेगरी नेतृत्वपंक्ति छलफलमा रहेको नेताहरूको भनाइ छ । महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बन्ने छ ।
केन्द्रीय कमिटीमा प्रत्येक जिल्लाबाट १ जना, प्रदेशअन्तर्गतका २ हजार ५ सय संगठित पार्टी सदस्य बराबर १ जनाका दरले थप हुने, समावेशी क्षेत्रबाट (महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक र अपाङ्गता) ७० जना र पदाधिकारीसहितको खुल्ला क्षेत्र ८० जना चयन हुने जनाइएको छ ।त्यस्तै, भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षणको व्यवस्था छ । महिलालगायतका सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहलाई आरक्षण गर्ने प्रावधन रहेको छ । एक हजार आठ सय ४९ प्रतिनिधि सहभागी भएको महाधिवेशनमा विभिन्न प्रतिवेदनहरू पनि पेस भएको थियो ।