Shittalpati
मल अभाव हुन नदेऊ

सरकारले विगतका वर्षमा जस्तो यस वर्षको बर्खे धान बालीका लागि रासायनिक मलको अभाव नहुने भने पनि किसानहरुले मल नपाएको गुनासो गर्न थालेका छन् । यति बेला बर्खे धान रोप्न व्यस्त भएका किसान र बारीमा मकैं छरेर मल राख्ने तयारी गरिरहेका किसानहरुले सहजै रुपमा मल पाउन नसकेको गुनासो छ । अभावकाबीच मल पाइहालेमा पनि किसानहरू महँगो मूल्य तिर्न विवश छन् । यसले विगतमा जस्तै मल अभावको समस्या दोहोरिने देखिन्छ ।  

देशमा रासायनिक मल उत्पादन गर्ने उद्योग नभएकाले औपचारिक र अनौपचारिक संयन्त्रमार्फत विदेशबाट मल आयात गर्नुपर्ने भए पनि मागअनुसार पर्याप्त परिणाम आयात हुन नसक्दा वर्षेनी किसानले मल अभावको समस्या भोग्नु परेको छ । कृषि प्रधान देशका नागरिकले हरेक वर्ष खेती लगाउने बेलामा मल अभावको समस्या झेल्नु विडम्वनापूर्ण अवस्था हो । पर्याप्त मल नपाएकै कारण धेरै खेत बाँझै रहेका छन् । अहिले खेत बारीमा युरिया हाल्ने बेला हुन थालेको छ, तर यसका लागि किसान मल नपाएर भौतारी रहेका छन् । समस्या कस्तो छ भने, धान र मकै छरिसकेपछि युरिया आवश्यक पर्छ, तर आवश्यक परेका बेलामै मल पाइदैन । किसानले न समयमा मल पाउँछन् नत पर्याप्त सिँचाई नै ।

सबै समस्या ज्यूँका त्यूँ हुँदा पनि सरकार कृषकप्रति उत्तरदायी बनेको देखिँदैन । यसले हरेक वर्ष किसान खेती गर्न छोड्दै गएका छन् । यसले भोलि देशमा खाद्य संकट उत्पन्न हुन सक्ने सम्भावनालाई बढाउन सक्छ । यसतर्फ सरकारले किसानलाई खेतीतर्फ आकर्षित गर्न मल अभाव हुन नदिने र पर्याप्त सिंचाईको प्रवद्र्धन दीर्घकालीन रुपमा बनाउने दिशामा बेलैमा सोच्न आवश्यक छ । कृषि प्रधान देशका नागरिकले विदेशबाट कृषिजन्य वस्तु आयात गर्नुपर्ने अवस्था आउनु राम्रो होइन । यसर्थ सरकारले किसानहरुलाई तत्काल मल अभाव हुन नदिइ सिचाँइको उचित प्रवद्र्धन गर्ने दिशामा गम्भीर भएर सोच्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update