Shittalpati
नगरको नीति तथा कार्यक्रममा रचनात्मकता  ः नगर प्रवक्ता खाँण

पाल्पा, रामपुर नगरपालिकाका प्रवक्ता तथा १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले नीति तथा कार्यक्रममा रचनात्मकतालाई प्राथमिकतामा राखिएको बताएका छन् । नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रचनात्मकतालाई बढी केन्द्रीत गरिएको बताएका हुन् ।

प्रवक्ता खाँणले भने ‘नगरको विकासको लागि नगरले नीति तथा कार्यक्रम र बजेटमा रचनात्मक कार्यक्रमलाई समेट्ने प्रयास गरेको छ।’ उनले महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन आवश्यक सीप विकासका कार्यक्रम, उद्यमशिलता विकास कार्यक्रम, उत्पादन वृद्धिका लागि वडा–वडामा पकेट कार्यक्रम, जेष्ठ नागरिकको लागि जेष्ठ नागरिक स्कुल सञ्चालन लगायतका रचनात्मक कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको बताए ।

प्रवक्ता खाँणले शिक्षा, स्वास्थ्यसँगै पूर्वाधार विकासलाई अघि बढाउने प्रयत्न गरिरहेको पनि उल्लेख गरे । उनले पूर्वाधार विकासमा ठूला योजना एकै वर्ष सम्पन्न गर्न नसकिने भएकाले क्रमागत योजनामार्फत अघि बढाईएको बताए । चालू खर्च कटौटी गरी पुँजीगत खर्च वृद्धिमा हदैसम्मको प्रयास गरिरहेको खाँणले उल्लेख गरे । नगरको आन्तरिक आम्दानीलाई वृद्धि गर्न करको दर भन्दा दायरा फराकिलो बनाइएको र यस वर्ष थप सक्रिय रुपमा लाग्ने उनले बताए । खाँणले आगामी आर्थिक वर्षबाट राजस्व भुक्तानीलाई डिजिटल माध्यमबाटै तिर्नसकिने व्यवस्था गर्ने तयारी भैरहेको समेत बताए । नगरपालिकाले टुक्रे योजना घटाउने र टोलविकास संस्थाबाट योजनाको काम गर्नमा जोड दिईने उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update