Shittalpati
अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भ

प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि नियमितरूपमा यो दिवस मनाउँदै आएको हो । आर्थिक–सामाजिक क्षेत्रमा सहकारीले पुर्‍याएको योगदानलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले १९९२ डिसेम्बर १६ को ८९ औँ पूर्ण बैठकबाट अन्तर्राष्ट्रिय सहकारी महासंघ स्थापना भएको सय वर्ष पूरा भएको अवसर पारेर सन् १९९५ देखि यो दिवस मनाउने निर्णय गरेको हो । सहकारी व्यवसायका माध्यमबाट गरिबी निवारण, रोजगारीको सिर्जना र सामाजिक एकताका लागि बहुमूल्य योगदान गरेको तथ्यलाई स्वीकार गर्दै यो दिवस मनाउने गरिएको छ ।

सहकारी भन्नाले आर्थिक रुपमा सिमान्तकृत, थोरै आय भएका र अन्य वित्तिय सेवामा पहुँच नभएका व्यक्ति या सामुदायिक समूहलाई प्रदान गरिने वित्तीय सेवा या सहायतालाई बुझाउँदछ । नेपालमा अनौपचिारिक रुपमा प्राचीनकालदेखि नै नेपालमा गुठी, धर्मभकारी आदि नामबाट सहकार्यको शुरुवात भएको पाइन्छ तर औपचारिक रुपमा सहकारीको शुरुवात भने २०१३ सालमा भएको हो । सञ्चारमाध्यममा केही समययता आएका समाचार हेर्दा दुईचारजना टाठाबाठाले सयौं, हजारौंलाई गुमराहमा पार्दै ठगी गर्ने माध्यम सहकारी बनिरहेको देखिन्छ । सहकारीमार्फत सर्वसाधारण ठगिएको, सहकारी सञ्चालकले बदमासी गरेको समाचार नियमित आइरहेका छन् ।

यो अत्यन्त दुःखको कुरा हो । विगतमा सहकारी अभियान जुन रुपमा अगाडि बढेको थियो त्यो अहिले हुन सकेको छैन । सहकारी क्षेत्रमा अहिले अनेक समस्या देखिने गरेका छन्, जसले गर्दा पूरै सहकारी क्षेत्र नै बदनाम हुने खतरा बढेको छ । जुन उद्देश्यका साथ सहकारीलाई व्यापक बनाइएको थियो त्यसतर्फ सहकारी अभियान अघि बढ्न नसकेको सत्य हो । तर, किन यस्तो भइरहेको छ भनेर गम्भीर रूपमा अध्ययन, विश्लेषण गरिएको पाइँदैन । अवस्था यस्तै रहने हो भने सहकारीमा समस्या थपिँदै जान्छन् नै, सँगै राज्यको तीनखम्बे नीतिले काम नगरेर अर्थतन्त्रमा समेत समस्या आउँछ । सहकारीको समग्र अभियानको मूल लक्ष्य भनेकै समाज रुपान्तरणका लागि ऐक्यबद्धता रहेको हुँदा त्यसलाई नै विशेष प्राथमिकता दिएर जनजीविकामा सहजता ल्याउँने काममा सम्बन्धित देशका सरकारले ध्यान दिनुपर्छ । यसो भयो भने मात्र अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउनुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update