Shittalpati
तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी विषयक गोष्ठी

पाल्पा, जिल्लाको तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी व्यवस्था विषयक बैठक तथा गोष्ठी भएको छ । राष्ट्रिय अपाङ्गता महासंघको आयोजना, तानसेन नगरपालिकाको सहयोग, द एसिया फाउण्डेसन नेपालको सहकार्य र सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्र तानसेनको समन्वयमा बैठक  तथा गोष्ठी भएको हो ।

स्थानीय तहले अनिवार्य गर्नुपर्ने अपाङ्गता सम्बन्धी कानुनी व्यवस्था विषयक बैठक तथा गोष्ठी आयोजना गरिएको नगरपालिकाले जनाएको छ । गोष्ठीको तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले विगतदेखि नै अपाङ्गता भएका व्यक्तिहरूको हकहितमा काम गर्दै आएको बताए । अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्ने विभिन्न संस्थासँगको सहकार्यमा नगरपालिकाले  काम गर्दै आइरहेको उनले उल्लेख गरे ।

उपप्रमुख प्रतीक्षा सिंजालीले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका विषयमा नगरपालिकाले विशेष ध्यान दिएको बताईन् । उनले अपाङ्गता भएका व्यक्तिहरुको लागि नगरपालिकाले कार्ड समेत वितरण गरेको जानकारी दिईन । उपप्रमुख सिंजालीले भनिन् ‘नगरभित्रका ४ सय ३५ अपाङ्गता भएका व्यक्तिहरुलाई कार्ड वितरण गरि सकिएको छ ।’ ७४ जनालाई (क), १ सय ५८ जनालाई (ख), १ सय ४० जनालाई (ग) र ६३ जनालाई (घ) वर्गको कार्ड वितरण गरिएको उनले बताइन् । चालु आर्थिक वर्षमा मात्र ५३ जनालाई विभिन्न प्रकारका कार्ड वितरण गरिएको समेत सिंजालीले उल्लेख गरिन । नगर प्रवक्ता यादवसिंह कार्कीले अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलन गरेर उनीहरूको हितमा काम गरिरहेको बताए । अझै कस्ता खालका कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी बन्न सक्छ भन्नेबारे सुझाव दिन समेत उनले सबैलाई आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत हरीराम नागिलाले बनेका नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । उनले अपाङ्गता भएका व्यक्तिलाई राज्यले प्राथमिकता दिनुपर्ने, कार्यालयहरु अपांगमैत्री बन्नपर्ने, उनीहरूलाई सम्बन्धित ठाउँमै पुगेर सेवा दिनुपर्ने, सेवा सुविधा र अधिकारबारे सरोकारवाला निकायका व्यक्तिले इमानदार भएर काम गर्नुपर्ने उल्लेख गरे । नगरपालिकाले अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका संस्थासँग आगामी आर्थिक वर्षमा पनि यसैगरी सहकार्य गर्नेमा आफू आशावादी रहेको सिर्जनशील अपाङ्गता स्वालम्बन केन्द्रका अध्यक्ष सन्दीप भट्टराइले बताए । अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेर उनीहरूलाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रम सञ्चालन गर्न समेत उनले आग्रह गरे । कार्यक्रममा अधिवक्ता डा.लक्ष्मण प्रसाद ज्ञवालीले अपाङ्गता भएका व्यक्तिको संविधानमा भएका अधिकार र स्थानीय तहले उनीहरूको क्षेत्रमा गर्न सक्ने कामबारे सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update