Shittalpati
रामपुरको बजेट संशोधनसहित नगरसभाबाट पारित

पाल्पा, जिल्लाको रामपुर नगर सरकारको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ । यही असार ६ गतेको नगरसभा बैठकमा उपप्रमुख बालकुमारी थापाले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक विधेयक नगरसभाको बैठकले  संशोधनसहित पारित गरेको हो ।

उपप्रमुख थापाले बैंठमा ७३ करोड ८५ लाख ४ हजारको बजेट प्रस्ताव गरेकी थिइन् । प्रस्ताव बजेट मध्ये प्रदेश सरकारबाट विशेष अनुदान २० लाख र प्रदेश सशर्तमा ६ लाख थप भएसँगै नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ७४ करोड ११ लाख ४ हजार पुगेको छ । संशोधनसहितको बजेट प्रस्तुत गर्दै उपप्रमुख थापाले चालु तर्फ ५६ करोड ३२ लाख ४४ हजार र पूँजिगत तर्फ १७ करोड ७८ लाख ६० हजार गरी ७४ करोड ११ लाख ४ हजार विनियोजन गरिएको बताइन् । जसमध्ये आर्थिक विकासतर्फ ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा १२ करोड ५ लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ करोड ६१ लाख ९९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १६ करोड बजेट विनियोजन भएको छ । नगरपालिकाले १० वटै वडालाई ४२ लाख बराबरको बजेट प्रदान गरेको छ । नगरपालिकाले आयतर्फ संघीय समानिकरण अनुदान १२ करोड ६ लाख, संघीय राजस्व बाँडफाँडबाट ११ करोड ६ लाख, संघीय समपुरक पूँजिगत १ करोड ३५ लाख, सशर्त चालुतर्फ ३४ करोड ५३ लाख ४ हजार, संघीय सशर्त पूँजिगत १ करोड २० लाख, प्रदेश समानिकरण अनुदान ८२ लाख ६५ हजार, प्रदेश राजस्व बाँडफाँड ८१ लाख ४० हजार, प्रदेश समपुरक १ करोड ५ लाख, प्रदेश विशेष अनुदान २० लाख, प्रदेश सशर्त १ करोड ६ लाख र आन्तरिक स्रोतबाट ९ करोड ९५ लाख ९५ हजार जुटाउने लक्ष्य लिएको छ ।

बैठकमा विधेयक समितिका संयोजक मिनबहादुर सिंजालीले रामपुर नगरपालिकाको नगरसभाको कार्यसञ्चालन कार्यविधि विधेयक २०८१ प्रस्तुत गरेका थिए । सो विधेयक समेत सर्वसम्मत रुपमा पारित भएको छ । चरणबद्धरुपमा औपचारिक, अनौपचारिक ढङ्गबाट छलफल गरी नगरसभामा घनिभूत छलफलपछि नगरसभाका सदस्यहरुले राखेका केही संशोधनसहित बजेट पारित गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । ‘नगर सरकारले उत्पादन वृद्धि, पर्यटनको विकास, शिक्षा र स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई विशेष ध्यान दिएका छौँ, जेष्ठ नागरिक र बालबालिका समेतलाई प्राथमिकतामा राखेका छौँ’, प्रमुख थापाले भने । नगर सभाको अधिवेशनले ४ वटा ऐन पारित गरेको उनले जानकारी दिए । सभाको विशेष समयमा बोल्दै नगर प्रवक्ता कपिलबहादुर खाँण र शुन्य समयमा ६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले आफ्नो भनाई राखेका थिए । सभा समापनमा बोल्दै प्रवक्ता कपिल बहादुर खाँणले सकारात्मक सन्देशसहित जनप्रतिनिधिहरु जनताको माझमा पुग्नु आवश्यक रहेको बताए । उनले विगतबाट सिकेको पाठलाई ग्रहण गर्दै नयाँ योजनाका साथ जनप्रतिनिधिहरु सक्रिय हुने समय आएको उल्लेख गरे । ३ का वडा अध्यक्ष दामोदर पाठकले नगरको विकासको लागि एकजुट भएर अघि बढ्नु पर्ने बताए । सभाको अवसरमा रामपुर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईई जिल्ला मै उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । नगरको नमुना विद्यालय दरैठाँटी माध्यमिक विद्यालयबाट चार जीपीए ल्याउन सफल छात्रा पूर्णिमा लक्ष्मी कुँवर र १४ वर्ष नगरपालिकामा करारमा कार्यरत रही हाल स्वऐच्छिक अवकाश लिए कार्मचारी शिवा देवी थापालाई नगद सहित सम्मान गरिएको हो । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितको सञ्चालनमा सभा भएको थियो ।

‘नीति तथा कार्यक्रममा रचनात्मकता’  
नगर प्रवक्ता तथा १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले नीति तथा कार्यक्रममा रचनात्मकतालाई प्राथमिकतामा राखिएको बताएका छन् । नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रचनात्मकतालाई बढी केन्द्रीत गरिएको बताएका हुन् । प्रवक्ता खाँणले भने‘नगरको विकासको लागि नगरले नीति तथा कार्यक्रम र बजेटमा रचनात्मक कार्यक्रमलाई समेट्ने प्रयास गरेको छ ।’

उनले महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन आवश्यक सीप विकासका कार्यक्रम, उद्यमशिलता विकास कार्यक्रम, उत्पादन वृद्धिका लागि वडा–वडामा पकेट कार्यक्रम, जेष्ठ नागरिकको लागि जेष्ठ नागरिक स्कुल सञ्चालन लगायतका रचनात्मक कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको बताए । प्रवक्ता खाँणले शिक्षा, स्वास्थ्यसँगै पूर्वाधार विकासलाई अघि बढाउने प्रयत्न गरिरहेको पनि उल्लेख गरे । उनले पूर्वाधार विकासमा ठूला योजना एकै वर्ष सम्पन्न गर्न नसकिने भएकाले क्रमागत योजनामार्फत अघि बढाईएको बताए । चालू खर्च कटौटी गरी पुँजीगत खर्च वृद्धिमा हदैसम्मको प्रयास गरिरहेको खाँणले उल्लेख गरे । नगरको आन्तरिक आम्दानीलाई वृद्धि गर्न करको दर भन्दा दायरा फराकिलो बनाइएको र यस वर्ष थप सक्रिय रुपमा लाग्ने उनले बताए । खाँणले आगामी आर्थिक वर्षबाट राजस्व भुक्तानीलाई डिजिटल माध्यमबाटै तिर्नसकिने व्यवस्था गर्ने तयारी भैरहेको समेत बताए । नगरपालिकाले टुक्रे योजना घटाउने र टोलविकास संस्थाबाट योजनाको काम गर्नमा जोड दिईने उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update