Shittalpati
 पाल्पाको माडीफाँट डुवानमा  

पाल्पा, लगातार परेको अविरल वर्षाका कारण पाल्पाको माडीफाँट डुबानमा परेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाव बढेपछि माडीफाँट डुबानमा परेको हो ।

अन्न भण्डारको रुपमा परिचित फाँट डुवानमा परेपछि यहाँको हजारौं हेक्टर क्षेत्रफलमा लगाइएको धानवालीमा क्षति पुगेको छ । मेहनत गरेर रोपेको धानवालीमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन् । ढल निकासको उचित व्यवस्थापन नहुँदा यहाँ सामान्य वर्षातमा पनि डुबान हुने गरेको छ । 

पहाडमा मुहान भएका साना,ठूला खोला नालाहरु माडीफाँट हुँदै उत्तरबाट दक्षिण तर्फ बग्ने गर्दछन् । यीनै खोला नालाहरुको दीर्घकालीन रुपमा समाधान नहुँदा यहाँको मुख्य खाद्य भण्डार भनिने फाँटहरु  हिउँदमा सुख्खा र वर्षायाममा डुवानको चपेटामा पर्ने गरेका छन् । पानी जमेपछि सवारी साधन र पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएको छ । वर्षातले झडेवा फाँट, बाँसटारी, प्रभास, दमकडा, सराई, रुप्से, पोखराथोक, चिदीपानी क्षेत्रमा पर्ने फाँटहरुसमेत जलमग्न भएको छ । रोपेको धानको बिरुवा माटोले पुरिदिएको  छ भने  रोपाइँ गर्न बाकी रहेका जमिनमा बिउ बगाई  दिएको स्थानीय पत्रकार प्रकाश नेपालले बताए ।

तस्वीर : प्रकाश नेपाल 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update