Shittalpati
बाढीपहिरोको जोखिम

वर्षा सुरु भएसँगै ठाउँ–ठाउँमा बाढी र पहिरोको समस्या देखिन थालेको छ । हरेक वर्ष जस्तै तराईमा बाढी र डुबान, पहाड र हिमाली क्षेत्रमा पहिरो लगायतका जोखिम यस वर्ष पनि कायमै छ । असार, साउन महिना बर्खाको समय हो । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद्को याम पनि हो । नेपालमा बर्सेनि बाढीपहिरोको विपद् नियमित जस्तो छ । जसको पूर्वानुमान स्वतः गर्न सकिन्छ । यति बेला बाढीपहिरोका कारण धेरैको घरहरु विस्थापित भए भने कतिले ज्यान समेत गुमाएका समाचारहरु बाहिर आएका छन् ।

मापदण्ड विपरित खनिएका सडकले घर, खेतबारी नै बगाएर विस्थापित हुनु परेको छ । तीन दिन देखिको अविरल वर्षका कारण विशेष गरी पहाडी जिल्ला पाल्पा, गुल्मीका सडक खण्डका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । त्यस्तै, मुख्य राजमार्ग क्षेत्रका ठाउँहरु समेत बेला बेलामा अवरुद्ध हुन थालेका छन् । गाउँ–गाउँमा सडकको पहुँच पुर्‍याउने होडबाजीका साथ निर्माण भएका सडकहरू बर्खामा हिलाम्मे भएका छन्, भने बर्खे भेलले घरबस्ती, विद्यालय जोखिममा परेका छन् । निरन्तर वर्षाले मानविय जनजीवन समेत अस्तव्यस्त बनेको छ । वर्षाको प्रारम्भमै ठूलो मानविय क्षति व्यहोर्नु परेको छ । यस वर्ष अझ धेरै वर्षा हुने भएकाले क्षति ठूलो व्यहोर्नुपर्ने आंकलन गरिएको छ ।

विपद् बाजा बजाएर आउँदैन । विपद् आइपरेमा के–कस्तो तयारी गर्ने भन्ने विषयमा पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो । तर नेपालमा आइपरेपछि मात्र हारगुहार गर्ने चलन छ, जसले गर्दा ठूलो क्षति भोग्नुपर्ने अवस्था छ । बाँध निर्माण गर्ने काम होस् वा आगो निभाउने र पहिरो व्यवस्थापन गर्ने यन्त्रहरू कहिले प्राथमिकतामा पर्दैनन्, जसले गर्दा क्षति सधैं अपेक्षितभन्दा बढी नै हुने गरेको छ । यस वर्ष पनि मनसुन सुरु हुनुअगाडि नै जोखिमको मूल्यांकन भएकै थियो, तर केही पनि तयारी भएन, फलस्वरूप देशभर सयौं घरहरु विस्थापित हुन पुगेका छन् भने कयौं घरहरु जोखिममा परेका छन् । विपद्को पूर्वतयारी नहुँदा सधै बाढी–पहिरोको पिडामा नेपाली नागरिक पर्ने गरेका छन् । हरेक वर्ष यस प्रकारको प्राकृतिक विनास गर्ने विषयमा सरकार अनभिज्ञ छैन । समयमै पूर्वतयारी नगर्दा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । मनसुन शुरू हुनासाथ आएको बाढी–पहिरोले गरेको क्षतिले आगामी दिनमा अझ बढी समस्या थप्न सक्ने देख्निछ । यसर्थ स्थानीय, प्रदेश र संघीय सरकारले यसतर्फ बेलैमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update