Shittalpati
परिवार नियोजन संघ पाल्पाको २२ औं साधारण सभा

पाल्पा, नेपाल परिवार नियोजन संघ पाल्पाको २२ औं साधारण सभा तानसेनमा भएको छ । संघले एक औपचारिक कार्यक्रम गरी वार्षिक साधारण सभा गरेको हो । सभाको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले उद्घाटन गरेका हुन् ।

सभाको उद्घाटन गर्दै प्रमुख खनालले अहिले सर्ने भन्दा नसर्ने रोगको कारण मानिसको स्वास्थ्य स्थिति भयावह बन्दै गएकोमा नियन्त्रणको लागि परिवार नियोजन संघ पाल्पाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले संघबाट महिला, मातृशिशु, प्रजनन् स्वास्थ्यको विषयमा गाउँ–गाउँमा पुगेर सेवा दिदै आएको उल्लेख गरे। सरकारीस्तरबाट गर्ने सेवा परिवार निजोजन संघ पाल्पाबाट हुँदै आएको र आगामी दिनमा पनि सेवालाई गाउँस्तरसम्म निरन्तरता दिन प्रमुख खनालले जोड दिए । कार्यक्रममा तानसेन नगरपालिका– ६ का वडा अध्यक्ष सागरमान महर्जनले महिलाको प्रजनस्वास्थ्यमा परिवार नियोजन संघबाट गुणस्तरीय सेवा प्रदान हुँदै आएको बताए ।

महिलाको प्रजनन् स्वास्थ्यसँग जोडिने हरेक किसिमका उपचार, परामर्श तथा रोकथामका विषयमा कार्यालयबाट नियमित सेवा प्रदान भईरहेको वडा अध्यक्ष महर्जनले बताए । संस्थाका सल्लाहकार चित्रवलीराम सुवालले संस्थाले विगत समयदेखी परिवार व्यवस्थापनको क्षेत्रमा गाउँ–गाउँमा पुगेर सेवा प्रदान गर्दै आएको बताए । संस्थाका सल्लाहकार बुद्धि प्रसाद शर्माले परिवारमा सवैभन्दा आमा स्वस्थ हुनुपर्ने, आमा स्वस्थ भएमात्र बच्चा स्वस्थ हुने, आमा र बच्चा स्वस्थ भए परिवार नै स्वस्थ बनाउने काम पाल्पा परिवार नियोजन संघले गर्दै आएको बताए । कार्यक्रममा संघका विज्ञ सदस्य पुष्करराज रेग्मी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष मुक्ति न्यौपाने लगायतले संघले आफ्नो कार्यक्षेत्र भन्दा माथि उठेर युवा, महिलाको स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रमदेखी दुरदराजमा शिविरहरु सञ्चालन, एचआइभी सम्बन्धी उपचार तथा परामर्श सेवा लगायत महिलाको स्तन तथा पाठेघर मुखको क्यान्सर परीक्षण जस्ता महत्वपूर्ण सेवा जिल्लामै दिदै आएको बताए । कार्यक्रममा युवा विज्ञ सदस्य कमल बस्यालले संघले गरेका बार्षिक गतिविधी प्रस्तुत गरेका थिए । संघले चालु आर्थिक बर्षको ४४ लाख ६२ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको थियो । सन् २०२३ मा १ करोड ४१ लाख २५ हजार बरावरको आयव्यय विज्ञ सदस्य बस्यालले साधारणसभामा जानकारी गराए । साधारणसभाको अवसरमा संघमा चक्रिय प्रणाली अनुसार निर्वाचित ७ जना सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । निर्वाचन अधिकृत शिव प्रसाद देवकोटाले पद तथा गोनियताको सपथ खुवाएका थिए । साधारणमा प्रस्तुत बार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । कार्यवाहक अध्यक्ष माधव प्रसाद अर्यालको अध्यक्षता, विज्ञ सदस्य सूर्य बहादुर कार्कीको स्वागत र युवा सदस्य सिर्जना गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update