Shittalpati
‘मेयरसँग बालबालिका’ : भन्छन् ‘प्रविधिमैत्री शिक्षामा नगर सरकारले ध्यान देओस्’

पाल्पा (रामपुर), जिल्लाको रामपुरमा ‘मेयरसँग बालबालिका’ कार्यक्रम अन्तर्गत विद्यार्थीसँग अन्तक्र्रिया गरिएको छ । रामपुर– ६, विजयपुरस्थित दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा नगर भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरुसँग नगर प्रमुख रमणबहादुर थापाले अन्तक्र्रिया  गरेका हुन् ।

बालबालिकाहरुको समस्या पहिचान गर्नुका साथै आवश्यक कार्यक्रम सञ्चालन गर्न र सुझाव संकलन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी बालबालिकाहरुले प्रविधिमैत्री शिक्षामा ध्यान दिन नगर प्रमुख थापासँग आग्रह गरेका छन् । उनीहरुले अहिलेको आवश्यकता अनुसार नगर सरकारले प्रविधिमैत्री शिक्षा जोड दिनुपर्ने बताएका छन् । भूपू सैनिक राईजिङ्ग इङ्गलिस स्कुलकी मनिषा नेपालीले युग सुहाउँदो प्राविधिक शिक्षाको आवश्यबकता रहेकाले नगर सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताईन् । उनले नगरपालिकाबाट निजी विद्यालयको अनुगमन हुनुपर्ने, कार्यक्रमहरु समय मै हुनुपर्ने सुझाव समेत नगर प्रमुख थापालाई दिएकी थिइन् सोही स्कुलका सक्षम बस्ताकोटीले विज्ञान प्रविधिको प्रयोग गरी नयाँ सामग्रीको अनुसन्धान र आविष्कारका लागि विद्यार्थीलाई नगरपालिकाले प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने उल्लेख गरे ।

दरैठाँटी माविकी विद्यार्थी सृष्टि खनालले अभिभावकविहिन, असहाय बालबालिकाहरुको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिइन् । सोही विद्यालयकी सुप्रिया पोखरेल, आकृति भण्डारी, निकिता ढकाल र अविशा भट्टराईले लागुपदार्थ दुव्र्यसनी, मोबाईल फोनको दुरुपयोगबाट सचेत गराउन सचेतना कार्यक्रम गर्न नगर प्रमुखलाई आग्रह गरे ।

शहिद बहुमुखी क्याम्पसका रेशम कुमारी नेपालीले समय अनुसार प्रोजेक्टरको माध्यमबाट शिक्षण गर्ने विधि लागु गर्दै जानु पर्ने बताए । नगर प्रमुख थापाले बालबालिकाहरुले दिएको सुझावलाई नगर सरकारले आत्मसाथ गर्दै अगाडि बढ्ने उल्लेख गरे । उनले बालबालिकाहरुले भने जस्तै नगर सरकारले पनि प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखकेो बताए । नगर प्रमुख थापाले भने ‘हामी पूर्वाधार विकाससँगै बालबालिकाको शिक्षामा प्रतिवद्ध भएर लागेका छौं ।’ असहाय बालबालिकाको संरक्षणका लागि नगरपालिकाले आफ्नोतर्फबाट र अन्य संघ संस्थासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै  उनले बताए । २०७४ पछि जन्मिएका नानीहरुलाई स्नातकोत्तरसम्म नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने नीति लिएको उल्लेख गर्दै नगर प्रमुख थापाले आर्थिक अभावमा कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुनु नपर्ने उल्लेख गरे । कार्यक्रमको अवसरमा नगरपालिकाले ३ जना बेसाहारा बालबालिकाहरुलाई बालउद्धार कोषमार्फत २० हजार प्रदान गरेका छ । यस्तै नगर भित्रका २१ वटा सामुदायिक विद्यालय र १ वटा क्याम्पसका १ सय २४ विद्यार्थीलाई मेयर छात्रवृत्ती कार्यक्रममार्फत छात्रवृत्ति समेत नगर सरकारले प्रदान गरेको छ ।

शहीद बहुमुखी क्याम्पस रामपुरमा भर्ना भएका २४ जना दलित समुदायका विद्यार्थीहरुलाई भर्ना शुल्क वापतको दुई लाख १६ हजार ६ सय प्रदान गरिएको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए । यस शैक्षिक सत्रको पहिलो चरणमा वडा नं. २, ३, ४, ५, ६ र ७ मा रहेका प्राथमिक तहको विद्यालयमा २/२ जना, आधारभूत तहको विद्यालयमा ४/४ जना र मावि तहको विद्यालयमा ६/६ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो । विद्यार्थी संख्या धेरै भएको रामतुलसी माविमा १४ जना र दरैठाँटी माविमा १० जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । साधारणतर्फ २ हजार ५ सय र उच्च प्राविधिक तथा विज्ञान संकायका विद्यार्थीलाई ४ हजारको दरले छात्रवृति प्रदान गरिएको काफ्लेले जानकारी दिए । 

बाँकी विद्यालयका विद्यार्थीहरुलाई दोस्रो चरणमा यहि शैक्षिक वर्ष भित्र रकम प्रदान गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रममा गंगा माविका छात्रा हिमाली जिटी, रामतुलसी माविका छात्रा संञ्चिता थापा र शहीद बहुमुखी क्याम्पसका रेशम कुमारी नेपालीले नगरपालिका प्रति आभार व्यक्त गर्नु गरे ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update